हितेन्द्रपछि कुलमान पनि सर्वोच्च जाँदै

हितेन्द्रपछि कुलमान पनि सर्वोच्च जाँदै

सरकारले नेपाल विद्युत् प्रधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएको छ । हिजो साँझ बसेको क्याबिनेट बैठकले घिसिङलाई हटाउने निर्णय गरेपछि राजनीतिक दलका नेता,कार्यकर्ता तथा नागरिक समाजले चौतर्फी विरोध गरेको छ । 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले घिसिङलाई हटाउने सरकारको निर्णय आपत्तिजनक भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा सरकारको उक्त कदमको आलोचना गर्नुभएको छ ।

काँग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालाले पनि विरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले कुलमानलाई हटाउनु आपत्तिजनक रहेको बताए । पार्टी सभापति रवि लामिछानेले हिजो ’बेलुकी १ मीनेट २२ सेकेण्ड फेसबुक लाइभमा बिजुलीबत्ति निभाएर विरोध गरेका थिए । उनले सलाइ कोरेर मैनबत्ति जलाएको दृश्यसहित लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् ।’

घिसिङलाई पछिल्लो आठ महिनामा चार पटक मन्त्रीस्तरीय र एक पटक मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जामन्त्री दीपक खड्काले स्पष्टीकरण सोधेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७८ साउन २५ मा दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका घिसिङको अवधि आगामी साउन २४ सम्म छ । 

यता घिसिङले सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । सरकारले हटाउने निर्णय गरेको खबरपछि उनले भने, ‘पत्र पाएपछि अदालत जान्छु ।’ कुलमानलाई हटाउने निर्णयपछि हिजैको क्याबिनेट बैठकले प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । यसअघि दाहालले आफूलाई हटाएर कुलमानलाई नियुक्त गरेकाले शाक्यले दायर गरेको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

टिप्पणीहरू