कुलोको रकम कुम्ल्याएको केशमा पूर्व अध्यक्ष मुछिए

कुलोको रकम कुम्ल्याएको केशमा पूर्व अध्यक्ष मुछिए

बझाङको खप्तडछान्न गाउँपालिकाका पूर्वअध्यक्ष वर्कबहादुर रोकाया भ्रष्टाचारमा तानिएका छन् ।

सिँचाई कुलो निर्माणमा अनियमितता गरेको अभियोगमा उनीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा वडा नम्बर ४ का तत्कालिन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत दिपकुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, लेखापाल मदनराज जोशी र उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया छन् । 

आयोगका अनुसार पालिकाको वडा नम्बर ४, स्थित सिम्लका घट्ट सिँचाई कुलो निर्माणमा आर्थिक वर्ष २०७६–०७७ मा रकम विनियोजन गरी कार्यसम्पादन गरिएको थियो । तर, सोही कामलाई आधार मानी आव २०७७–०७८ मा कुनै पनि कामै नगरी भुक्तानी दिएको पाइएको अख्तियारको ठहर छ । 

‘आव २०७६–०७७ मा वार्षिक बजेट विनियोजन भई फिल्डमा कार्य सम्पन्न भइसकेको, आव २०७७–०७८ को वार्षिक योजना किताबमा उक्त सिम्लका घट्ट सिँचाई योजना नरहेको र फिल्डमा कुनै कामसमेत नभएकोमा पहिले नै सम्पन्न भइसकेको योजनालाई आव २०७७–०७८ मा उक्त योजनाको उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता, लागत अनुमान, प्राविधिक मूल्याङ्कनसहितको गलत लिखत तयार गर्ने–गराउने कार्य गरी सोही लिखतको आधारमा उपभोक्ता समितिलाई भुक्तानीको लागि सिफारिस गरेको, योजना नै नरहेको कामको लागत अनुमान, सम्झौता पत्र, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन लगायतका गलत लिखत कागजातहरु लुकाउने छिपाउने बदनियतले च्याते–च्यात्न लगाएको र झुट्टा बिल भरपाईको आधारमा रु.१४,०८,८१७।– रकम भुक्तानीको लागि चेकसमेत दिए लिएको देखिएको,’ अख्तियारले भनेको छ । 

अदालतमा दायर आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगोसहित कैद र जरिवानाको मागदाबी गरिएको छ ।

टिप्पणीहरू