समाजवादी मोर्चाको आन्दोलनले ‘पिताम्बर’ लाई संकट

समाजवादी मोर्चाले भोलि भृकुटीमण्डपमा आयोजना गर्न लागेको वृहत जनसभाका कारण प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’ मुस्किलमा परेको छ ।
भोलि साँझ भृकुटीमण्डपमा ‘पिताम्बर उत्सव’ आयोजना गरी ट्रेलर लन्च गर्ने भन्दै निर्माण टिमले प्रचारप्रसार गरेकोमा आन्दोलनका कारण अन्तिम घडीमा स्थगित गरिएको छ । निर्माता/निर्देशकले दुई साताअघि नै उत्सव घोषणा गरेको थियो । कार्यक्रमका लागि साउन्ड सिस्टम, डिजिटल बोर्ड, स्टेजलगायतको बुकिङमा लाखौँ रकमसमेत खर्च गरिसकेको बुझिएको छ ।
तर, समाजवादी मोर्चाले भोलि सोही ठाउँमा बृहत जनसभा आयोजना गर्ने भएपछि उक्त उत्सव अनिश्चितकालीन रुपमा स्थगित गरिएको निर्माण टिमका एक सदस्यले जानकारी दिए । उनका अनुसार पछिल्लो समय विकसित भइरहेको राजनीतिक घटनाक्रमले चलचित्रको प्रदर्शनसमेत अन्यौलमा परेको छ ।
‘मोर्चाले गर्ने कार्यक्रम टुँडिखेलमा हुन्छ होला भनेर हामीले भृकुटीमण्डप रोज्यौँ, तर उहाँहरुले पनि त्यही रोज्नुभएछ’, ती सदस्यले जनआस्थासँग भने,‘चाहेको भए हामीले भृकुटीमण्डपबाट फेरि टुँडिखेलमा सार्न सक्थ्यौँ, तर राजनीतिक सिनारियोलाई हेर्दा त्यो उचित ठानेनौँ ।’
त्यसो त, चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ । तर, निर्माण पक्ष भने मिति सार्ने मनस्थितिमा पुगेको र अहिले आन्तरिक छलफलमा रहेको बताइएको छ । उनै चलचित्रकर्मी भन्छन्, ‘एक हप्ताजति पर्खेर मुलुकको वातावरण हेर्ने र सोही अनुसार निर्णय गर्नेगरी छलफल भको छ ।’
पछिल्लो समय राजावादी शक्ति जुर्मुराएर सडकमा उत्रिएको र त्यसविरुद्ध गणतन्त्र पक्षधरहरु आन्दोलनमा उत्रिन लागेकाले फिल्म बजार प्रभावित हुनसक्ने भन्दै यस क्षेत्रमा निकै ठूलो चिन्ता देखिन्छ ।
बुझ्नुपर्ने के छ भने, कुनै पनि चलचित्रको व्यापारमा प्रदर्शन हुने समयको राजनीतिक घटनाक्रम, प्राकृतिक प्रकोप तथा ठूला दुर्घटनाले ठूलो प्रभाव पारेको हुन्छ । यसअघि गत असोजमा आएको बाढी र त्यसअघिको जहाज दुर्घटनापछि उत्पन्न असहज परिस्थितिका कारण तत्कालीन समय प्रदर्शनमा आएका फिल्मले लगानीसमेत उठाउन सकेनन् ।
स्मरण रहोस्, बहुप्रतिक्षित ‘पिताम्बर’मा झण्डै सात करोड लगानीमा बनेको चलचित्र हो । वर्तमान समयका चर्चित कलाकार प्रदिप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया लगायतको फिल्ममा अभिनय छ ।
टिप्पणीहरू