साहसी सुरक्षागार्डको गलामा दुबोको माला, हातमा पाँच लाखको चेक

भाटभटेनी सुपरमार्केटले कोटेश्वर शाखाका सुरक्षागार्डहरुलाई पुरस्कृत गरेको छ । गत शुक्रबार तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा सुपरमार्केट तोडफोड र लुटपाट गरिएको थियो । लुटपाट र तोडफोडमा संलग्नहरुलाई आफ्ना सुरक्षागार्डहरुले सीमित स्रोत र साधनबीच पनि डटेर प्रतिकार गरेको जनाउँदै आज नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
भाटभटेनी सुपर स्टोरका प्रबन्ध सञ्चालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार एक सय ११ नगद र तलबमा पाँच ग्रेड थप गरिदिएका छन् । लुटपाट मच्चिँदा पराजुलीले लुटेराहरुलाई पिट्दै धपाएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
गुरुङले त्यहाँ अन्य सुरक्षागार्डहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरेका छन् । हालसम्म शुक्रबारको लुटपाटमा संलग्न नौ जनालाई प्रहरीले पक्रेको छ । भाटभटेनीमा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
टिप्पणीहरू