मधेसीको अब छुट्टै मोर्चा, अशोकलाई राखिएन

मधेसीको अब छुट्टै मोर्चा, अशोकलाई राखिएन

मधेश केन्द्रित सात राजनीतिक दलबीच मोर्चाबन्दी हुने भएको छ । भोलि काठमाडौँमा औपचारिक कार्यक्रमगरी उनीहरुले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गर्न लागेका हुन् ।

मोर्चाको सचिवालयले आज सूचना जारी गर्दै अपराह्न ३ बजे बानेश्वर, थापागाउँस्थित काठमाडौँ बैंकेटमा घोषणा सभा कार्यक्रम राखेको जानकारी गराएको छ । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा, महन्थ ठाकुरको लोसपा र डा. सीके राउत अध्यक्ष रहेको दल जनमत पार्टी रहने छन् । 

त्यसैगरी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीको मोर्चामा आवद्धता रहने छ । सात वटै पार्टीका अध्यक्षको उपस्थितिमा मोर्चा घोषणा गरिने जानकारी गराइएको छ ।  

मोर्चामा उपेन्द्रबाट फुटेर बनेको अशोक राईको जसपालाई भने सामेल नगरिने भएको छ । यसअघि उक्त पार्टीलाई पनि ठाउँ दिने भनिएकोमा दल विभाजन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले अप्ठेरो परेको बताइएको छ ।  

नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको नारासहित सत्तामा गठबन्धन गरेपछि समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टिनसक्ने खतरा औँल्याउदै आएका मधेशी दलहरु लामो समयदेखि मोर्चाबन्दीको तयारीमा थिए । त्यसनिम्ति उनीहरुले कार्यदल बनाएर छलफल अघि बढाएका थिए ।

टिप्पणीहरू