नागढुङ्गामा स्थानीयको अझै अवरोध,सुरुङ्गमार्गको काम ठप्प

नागढुङ्गामा स्थानीयको अझै अवरोध,सुरुङ्गमार्गको काम ठप्प

नागढुंगा सुरुङ्गमार्गको निर्माण अवरुद्ध भएको छ । स्थानीयको अवरोधका कारण आयोजनाको सम्पूर्ण निर्माण कार्य ठप्प बनेको हो । निर्माण कार्य बीचमै रोकिएपछि आयोजनाका निर्देशक सञ्जय पन्थीले शान्तिसुरक्षाको व्यवस्थाका लागि सडक विभागलाई पत्र लेखेका छन् । सो पत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत गृह मन्त्रालय पठाउन उनले आग्रह गरेका छन् ।

आयोजनाका कर्मचारी,निर्माण व्यवसायी,परामर्शदाता,निर्माणसम्बद्ध सवारीसाधन र उपकरणलाई सुरक्षा प्रदान गरेर निर्माण सुचारु गर्नुपर्ने उल्लेख गर्दै उनले निर्माण कार्य रोकिँदा सरकारलाई दोहोरो हानिनोक्सानी हुन पुगेको जानकारी गराएका छन् । 

दर्ता नम्बर १७७६ भएको पत्रमा भनिएको छ,‘यसरी केही निहित स्थानीय व्यक्तिको स्वार्थको कारण पुरै आयोजनाको निर्माण कार्य अवरुद्ध भई नेपाल सरकारलाई दोहोरो हानिनोक्सानी भइरहेकोले यसलाई रोक्न आयोजना क्षेत्र, आयोजना सम्बद्ध कर्मचारी, परामर्शदाता, निर्माण व्यवसायी तथा निर्माण सम्बद्ध सवारीसाधन–उपकरणको सुरक्षा प्रदानगरी निर्माण कार्य सुचारु गर्नको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत गृह मन्त्रालय पठाउन अनुरोध गर्दछु ।’

उनका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्ग प्रभावित क्षेत्रका स्थानीय, खानेपानी उपभोक्ता समितिहरुले विभिन्न आठ बुँदे माग राखेका छन् । तीमध्ये केही सम्बोधन भइसकेको र केही बाँकी रहेको उनको भनाइ छ । गत चैत ३ गतेदेखि स्थानीय आन्दोलनमा छन् । उनीहरुले आयोजनाको पूर्वी पोर्टलतर्फ फ्लाईओभर, एप्रोच सडक र टनेलभित्रका कार्यहरु (काठमाडौं जिल्लाअन्तर्गत) तथा पश्चिम पोर्टलतर्फ एप्रोच सडक र पहिरो नियन्त्रणलगायतको कार्य (धादिङ्ग जिल्लाअन्तर्गत) पूर्ण रुपमा अवरुद्ध गरेर संघर्षका कार्यक्रम गरिरहेका छन् । 

निर्माण कार्य ठप्प भएपछि चैत १० गते सचिवको कार्यकक्षमा सरोकारवालाहरुको बैठक बसेको थियो । तर, त्यो बैठक निष्कर्षविहिन टुंगिएको हो । त्यसपछि गत चैत १३ गते आयोजनाले विभागलाई पत्र लेखेको हो ।

टिप्पणीहरू