वकिलको भोट गणना आज नहुने

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भोलिबाट शुरु गरिने भएको छ ।
बारको आगामी तीन वर्षे नयाँ कार्यसमितिका लागि हिजो देशभर एकैसाथ मतदान भएको थियो । काठमाडौं उपत्यका र बाहिरगरी ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । उपत्यका बाहिरका मतपेटिका संकलनमा ढिलाई भएकाले भोट गणनामा केही बिलम्ब भएको हो ।
निर्वचन समितिका अनुसार आज बेलुकासम्म सबैतिरको मतपेटिका काठमाडौँ आइपुग्ने र सोमबारदेखि गणना थालिने छ । बारको चुनावमा ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत अर्थात् ७ हजार ९९५ मत खसेको थियो ।
काठमाडौँमा उपत्यकामा ४ हजार ६४३ र बाहिर ३ हजार ३५२ मत खसेको निर्वाचन समितिले जनाएको छ । जसमध्ये काठमाडौँ बारमा १ हजार ३८१, उच्च बार पाटन १ हजार ५५८, ललितपुर बार ५६०, सर्वोच्च बार ५५०, भक्तपुर बार ३८८ र केन्द्र परिवर्तन गर्ने २०६ जनाले मतदान गरे ।
नेपाल बारको २५ सदस्यीय कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । चुनावमा सत्ता गठबन्धन र प्रतिपक्ष दल सम्वद्ध वकिलहरू समूह बनाएर प्रतिश्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेस र एमालेको वृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र अध्यक्ष उठेका छन् । उनलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी निकट व्यावसायिक कानून व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको चुनौती छ ।
सत्ताधारी मिश्रको समूहमा केदार कोइराला महासचिवको उम्मेदवार हुँदा प्रतिपक्षी खेमाबाट अधिवक्ता यज्ञमणि न्यौपाने मैदानमा छन् ।
टिप्पणीहरू