एसियाली सेयर बजार आज पनि ध्वस्त, अमेरिकी निर्णय आफैँलाई घाँडो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिनियाँ सामानमा लाग्ने भन्सार शुल्क बढाउँदै १०४ प्रतिशत पुर्याउने घोषणापछि एसियाली सेयर बजारमा ओरालोको क्रम बढेको छ । आज बजार खुल्नेबित्तिक्कै जापानको निक्केईमा ३.५ प्रतिशत गिरावट आएको छ ।
हङकङ, दक्षिण कोरिया, सिंगापुर, अष्ट्रेलिया र भारतीय सेयर बजारहरुमा पनि ठूलै पहिरो गएको छ । युरोपेली र अमेरिकी सेयर बजार पनि केही घण्टापछि खुल्ने क्रममा सोही अवस्था देखिने विश्लेषण छ ।
यता चीनले भन्सार शुल्क बढाउने अमेरिकी निर्णयप्रति कडा प्रतिक्रिया जनाएको छ । अमेरिकी धम्कीको कुनै परवाह नगर्ने चीनले बताइसकेको छ । अमेरिकी सुरक्षा छातामा रहेका दक्षिण कोरिया र जापानले भने अमेरिकी भन्सार दर वृद्धिमा मुख खोलेका छैनन् । जापान अमेरिकामा सबैभन्दा धेरै लगानी गर्ने मुलुक हो ।
अमेरिकाले चिनियाँ सामानमा लगाएको चर्को भन्सार शुल्कले अन्ततः उसैलाई असर पर्ने देखिन्छ । पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष अमेरिकाले चीनबाट पाँच सय बिलियन डलर बराबरको सामान आयात गरेको थियो । चीनले उताबाट पाँच भागको एक भाग अर्थात एक बिलियन डलर हाराहारीको सामान ल्याएको देखिन्छ । २५ वर्षअघि सन् २००० मा अमेरिकाले चीनबाट मुश्किलले एक बिलियन डलरको सामान आयात गरेको र चीनले निकै कम आयात गरेको थियो ।
ट्रम्पले चीनमाथि सबैभन्दा धेरै र अन्य साना तथा गरिब मुलुकमाथि कम्तीमा १० प्रतिशत भन्सार तोकिदिएका छन् । तर सबैभन्दा रमाइलो पक्ष रुसविरुद्ध कुनै घोषणा गरिएको छैन । बेलारुसबाट अमेरिका निर्यात हुने सामानमा पनि भन्सार वृद्धि गरिएको छैन ।
टिप्पणीहरू