करुणाभित्र लुकेका कारण

करुणाभित्र लुकेका कारण

भर्खरै बजारमा आएको पुस्तक ‘करुणा’बारे बुद्धको जन्थथलो निवासी, दर्शनको विद्यार्थीका रूपमा श्रद्धापूर्वक केही लेख्न मन लाग्यो ।

शुरुमा लाग्यो– विष्मयकारी शीर्षक चयन कसले, कसरी गरिदियो होला ? एकातिर क्रान्तिकारी कम्युनिष्ट सिद्धान्तको शिरपोस, अर्कोतर्फ बुद्धचेतनाका रश्मीहरू लहरिरहेको – विरोधाभाष त देखिने नै भयो । लेखक राधिका शाक्यको वंश शाक्यमुनि बुद्धसँग सम्बन्धित छ वा छैन शोधनीको जिम्मा ललितपुरको महापालबासी शोधार्थीलाई छोडौँ तर पुस्तक पढेर लाग्यो– यसको निश्चित मिसन छ । धर्म र दोषका आधारमा पीडाबोध गर्नु कुनै ठूलो विपद भएन, ती हाम्रो जीवनमा आउँछन् र केहीबेरको ताप–प्रताप दिएर जान्छन् । लाग्छ– संसारका सबै श्रीमान् आफूले पाएको शक्ति श्रीमतीसँग बाँड्न चाहन्छन् । त्यसैले हल्दारसाबकी श्रीमती हल्दार्नी भइन्, साहुजीकी श्रीमती साहुनी, डाक्टरकी श्रीमती डाक्टर्नी भइन्, मन्त्रीकी श्रीमती मन्त्राणी...। मनोविज्ञानको विभेद एउटा होला तर अहिलेका श्रीमतीहरू आफ्नै क्षमताले पहिचान बनाउने बाटोमा छन् । त्यो सुखद पक्ष हो तर राधिकाका अगाडि श्रीमान् खड्गप्रसाद शर्मा ओलीको परिचय अजंगको रूखझैँ उभिएको छ ।

आफ्नो उचाइ बढाउने चक्करमा अरुको कद ताछ्ने काम लेखक राधिकाले नगरेको भए हुन्थ्यो । धेरै अर्थमा राधिका र श्रीमान् खड्गको जीवनमा एकरूपता छ । पीडाका बखत होस् वा सुखका बेला दुवैको युगल यात्राबारे पुस्तकले अन्तिमसम्म बोलेको छ । ओली सरको सम्बोधनमार्फत पार्टीको अग्रज कार्यकर्ताका हिसाबले राधिकाको साधारणशीलता नदेखिएको होइन । राधिकाको ओहोदा निकै ममतामयी किसिमको छ तर पुस्तकमा कडा भाषा कसरी निस्क्यो, अचम्म छ ।

भारतीय प्रतिनिधिले बालकोटमा ब्रेकफास्ट खाएको कुरालाई धेरै ठूलो तीर मारेजसरी पस्कनु कत्तिको शोभनीय भयो होला ?

कसैले नमागीकनै पायो भने त्यो करुणा भयो, कसैले मागेर पायो भने त्यो भिक्षा भयो । निवासमा बसाएको बुद्धमूर्तिको धुलो पुछ्ने निहुँमा सँगै लगाएको पिपलमा पानी हाल्ने बहानामा पदप्रतिष्ठाको प्रकटीकरण बग्रेल्ती देखियो । एउटा हातले दिएर अर्को हातले थाहा नपाउने पो समाजसेवा ! यी कुरा राधिका शाक्य स्वयंले लेखेको हो वा राधिकाका लागि लेखिएको भन्ने द्विविधाले घुमाइरह्यो ।

वाहवाही दिनेहरूको चास्नीले अर्को महको घार बनाउला तर कृपया व्यक्तिगत प्रसंगहरूको गरिमा कायम राख्नुहोला, देशको मर्यादाबारे सोच्नुहोला, अन्य देशका नेताबारे लेख्दा ध्यान पुर्‍याउनुहोला । मै राम्रो, मेरो धरहरा आहा, भीमसेनको धरहरा छ्या ! मेरा खसमले लाएको दौरासुरुवाल राम्रो अन्य नेता, कार्यकर्ता वा आमनेपालीले लगाएको पोशाक नराम्रो ! देश अटाउने केकको कोक्रोमा ममताको खानदानी भावलाई हल्लाउन नबिर्सनुहोला । सधैँ बाहिरबाट ढुंगा घरमा ल्याउने श्रीमान्लाई सोध्नुहोला मन पनि ढुंगाको नबनाउनुहोला, एकफेरको पद सधैँको होइन, एकफेरको भोगाइ सधैँको होइन, हामी नश्वर चेतनाका चोइला हौँ । ठूलो घरमा बसेर साना घरमा बस्नेहरूका बारेमा सोच्नुहोला, तपाईंंले दिएको पैसा वा सहयोग रकमले लक्ष्यित वर्गको अपमान त भएन भन्नेबारे पनि सोच्नुहोला । आफूले दशकौँ काम गरेको बैंकबारे सधैँ सबै खराब होइन होला, समकालीन, अग्रज पनि होलान् तिनले पनि कृति लेख्लान् र फेहरिस्त खुलाउलान् । तत्कालीन गभर्नर तिलक रावलले तीन घण्टा कुराए भनेर कर्मचारीको मनोदशा लाउडस्पिकर लाउनुपर्ने थिएन । पार्टी अधिवेशनमा झलनाथ वा माधव कमरेडबारे बोलेको कुरालाई के आधारमा करुणाको तराजुमा राख्न सकिएला र खै !

एकपल्ट जनतामाझ गएर उभिएर सोध्नुहोस्, पानी आयो धारामा ? ग्यासचुलो बल्यो तपाईंका घरमा ? लोडसेडिङ भएको त छैन ? डाँडामा बनेका टावरहरूबाट राम्रो दृश्य त देखिरहनुभएको छ ? बन्दै–भत्कँदै गरेका भौतिक संरचनाका कारण काम त पाइरहनुभएको छ नि ? भएका विमान थला परेर पानीजहाजको झण्डा पो हल्लाइरहनुभएको छ कि ? बालकोट बन्दरगाहमा भेट्न आउने सबै सन्तान ओलीसरका शुभचिन्तक होइनन्...। हातमा टल्किरहने घडीको मोल महँगो होला तर त्यसले दिने समयको मोल अनमोल हो । चश्मा महँगो वा त्यसको फ्रेम किमती होला, त्यसले खासै फरक पार्दैन जब आँखाले धमिलो मात्र देख्छन् र आमलोकको मनलाई अमिलो बनाउँछन् भने के काम त्यसको ? ओलीपछिको एमाले पनि हुनेछ भन्ने कल्पना त गर्नुहोस् ... । आफ्नो दियो आफैँ बाल्नुहोस्, आफ्नो छाता आफैँ ओढ्नुहोस्, आफ्नो चश्मा आफैँ पुछ्नुहोस् ... यहाँ तपाईंको चश्माले तराईको उर्वराभूमिमा अग्लिएको भ्यू टावर देख्ला वा टाकुरामा टल्किएको अर्को भ्यू टावर देख्ला तर देख्न सक्ने छैनन् आमजनताका पीडा, देशको आशा, भरोशा । दुःखका साथीलाई सुखमा बिर्से पनि फेरि आउने दुःखको खालमा ती परम् मित्रहरूलाई सम्झनुहोला जसको करुणाको कद उखान तुक्काभन्दा धेरै माथि छ । शीर्षकअनुरूपको करुणाको कण बाँकी रह्यो भने, व्यवस्था र अवस्थाबाट आफू त उठ्नुहोला तर जगजनता उठेनन् भने शक्ति र सत्ताको सुई उल्टनेछ, संयोगले फेरि भेट्टाउनेछ । गोडा काटिएका समकालीनहरूले यात्रा गर्नुपर्ने होइन यात्रा गन्तव्य बनेर उनीहरूकहाँ आउनेछ । अप्प दिप्पो भवः ... ।

टिप्पणीहरू