रवि, चितवनका जनतालाई अलपत्र नपार

गणतन्त्र स्थापनापछि जनताको अवस्थामा सोचेजस्तो सुधार भएन । शुरुका केही वर्ष संक्रमणकाल नै रह्यो । जनताले माओवादीलाई दिएको मतअनुसारको नेतृत्व नौ महिना पनि टिकाउन सकिएन । संविधान बनाउन नै लामो समय लाग्यो । एक थान संविधान त आयो तर यसलाई पनि सर्वस्वीकार्य बनाउन सकिएन । फरक मत हुनेहरूले विरोध गर्नु स्वाभाविकै थियो ।
पार्टी फुटेको चोटले निर्वाचनमा सहनुपरेको खतीमाथि हुँदाखाँदाको पार्टी छाडेर नयाँ शक्तिको आशमा बाबुराम भट्टराईको नामनिशान नै भयो । अस्तित्व बचाउन कहिले एमालेलाई पार्टी नै बुझाउने, कहिले कांग्रेसलाई चुनाव चिह्न बुझाउने प्रचण्डको बाध्यता बन्यो । यति लामो समयसम्म पनि शान्ति प्रक्रियालाई निचोडमा पुर्याउन सकिएको छैन । हिजो सत्ताको भ¥याङ बनिदिँदा फागुन १ गते बिदा दिन तयार एमालेले अब त्यो दश वर्षलाई भिषण आतंक भन्न थालेको छ । इतिहासको यथार्थतालाई स्वीकार नगर्ने मात्र हैन, पछाडि नै फर्कनुपर्ने स्वरहरू पुनः उठ्न थालेको छ ।
विकल्पको रूपमा व्यक्ति मात्र हैन पार्टीहरू पनि देखा परिरहेका छन् । हर्क, गोपी, बालेनजस्ता केही स्वतन्त्र उम्मेदवारको विजयबाट हौसिएर राजनीतिको जालो थापिहाल्ने सुरमा रास्वपा स्थापना भयो र अड्कल काटिएभन्दा ठूलो नतिजा हात पार्यो । पछि पालो आउला कि नआउला भनेर रवि लामिछाने आफैँ सरकारमा नेतृत्व गर्न पुगे । अदालतले दोषी ठहर गरी सांसद पद खोसिएपछि पुनः सांसद बन्नु ठीकै थियो होला तर फेरि मलाई त्यही मन्त्रालय चाहियो भनेर हठ गरिरहे ।
राजनीतिमा आउनुअघि जोडिएका विषयलाई दिन–रात उठाएर आखिर जेलमा जानुपर्ने अवस्था आयो । हिजो धरौटीमा छाड्दा जयगान गरिएको त्यही न्यायालयलाई आज थुनामा पठाएपछि सराप्ने कुरा पनि आएन । मुद्दाको प्रकृति र अभियोग हेर्दा यसको अन्तिम किनारा लाग्न केही वर्ष लाग्ने प्रष्ट सम्भावना देखिन्छ ।
सांसद पद निलम्बित भएको लामो समय भइसकेको थियो । सभामुखलाई भनेर मात्र फुकुवा हुने अवस्था थिएन । आमकानुनअनुसार सांसद पद निलम्बन न्यायिक थियो कि थिएन भनेर अदालतमा प्रवेश गरेको भए यसबारे स्पष्ट व्याख्या हुने र यसपछि अन्य मुद्दाको हकमा पनि सजिलो हुने थियो । अब थुनामै गएपछि यो प्रश्न गौण भएको छ ।
रविले टिभीमार्फत प्राप्त गरेको हाइ–हाइका कारण जनताले साथ दिएका हुन् भन्ने आमबुझाइ छ । उपनिर्वाचनमा पहिलेभन्दा बढी मत प्राप्त गर्नु यसको प्रमाण हो । छोटो समयमा रास्वपाले धेरै उतार–चढाव व्यहोरेको छ । मुख्य सहयोगी महामन्त्री डा. मुकुद ढकाल नै कारबाहीमा परेर पार्टी बाहिर छन् । शुरुमा साथ दिने केही मुख्य व्यक्ति अहिले साथमा छैनन् । तर, जनमानसमा भने अहिले पनि राम्रै सहानुभूति देखिन्छ । देशमा वैकल्पिक राजनीतिक शक्तिमाथिको आशक्ति कम भएको छैन ।
मैले कुनै अपराध गरेको छैन, भगवान् छन् अदालतले न्याय दिनेछ भनेर मात्र कुर्नु बुद्धिमत्ता हुने छैन । नेपालजस्ता विकासोन्मुख देश मात्र हैन, बेलायतजस्ता विकसित र समृद्ध देशमा पनि जेल जीवन बिताइरहनेको संख्या प्रशस्त छ । भोलि फैसला हुने बेला निर्दोष ठहर भए पनि त्यसपछि सांसद हुने समय घड्किक्ने वा थोरै समय मात्र बाँकी रहन सक्छ । त्यसैले उनले अहिले निलम्बित पदबाट राजीनामा दिनु बेस हुन्छ । दुई पटक सांसद छान्ने चितवनका जनतालाई नेतृत्वविहीनताको अवस्थामा राख्नु हुँदैन ।
पार्टीलाई चलायमान राख्न पनि यो कदम सही हुनेछ । एक अर्को प्रभावकारी नेतालाई सदनमा लाने मौका पनि हो यो । अन्य पार्टीको धरातल देखाउने समय पनि यही हो । यसले पुराना दललाई व्यापक दबाब दिनेछ । विचार व्यक्तिभन्दा बलवान हुन्छ । सही विचारलाई प्रयोग गर्न सही व्यक्ति ठाउँमा हुनैपर्छ । केही समय शक्तिशाली जस्तो देखिए पनि त्यस्ता व्यक्तिको अभावमा सिंगो संस्था धराशयी हुने खतरा रहन्छ । त्यसैले कुनै पनि पार्टी वा संस्थामा उत्तराधिकारीको पनि महत्वपूर्ण भूमिका हुने गर्छ । सकेसम्म सामूहिक नेतृत्वमा चलेको विचार नै लामो समय टिक्छ ।
अहिले एकथरी मानिस स्वतन्त्र पार्टी रविसँगै जेल चलान भएजस्तो ठानिरहेका छन् । सरकारी पार्टीहरूले अजम्बरी बुटी पाएजस्तो हर्ष मनाएका छन् । ०८४ मा भएभरका सांसद आफ्नै पार्टीको हुने सपना देखिरहेका छन् । त्यस्ता प्रवृत्तिले सरकारले भनेको नमान्दा कुलमानलाई हटाउनु ठीक छ । अदालतले पनि अन्तरिम आदेश दिएन भनेर युद्ध जितेजस्तो गर्नु पनि ठीकै मानेका होलान् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सब जना मिलेर कार्यालयमा प्रवेश गराई बालेनलाई एक्लो बनाएकोमा कतिपयले विश्वयुद्ध नै जितेजस्तो गरिरहेका छन् ।
म रास्वपाको सदस्य हैन । नजिकका धेरै साथी त्यतातिर लागेका छन् । देशमा केही राम्रो भइदिओस् भन्ने सबैको कामना हो । यति छिट्टै त्यस्तो कामनामा तुषारापात नहोस् भन्नेसम्म मेरो चाहना हो । राजनीतिप्रति बैराग्य जागेपछि युवा विदेशतिर लाग्ने मात्र हैन, देशमै गएर केही गर्छु भन्ने सोचाइ राख्नेहरू पनि निरुत्साहित हुने गर्छन् । कसैले राम्रो नगरेपछि बरु पुराना नै ठीक भन्ने पनि लाग्न सक्छ ।
यस्तो अवस्थामा नपुग्न पनि राजनीतिमा नयाँ–नयाँ खालका नेतृत्व देखिनुपर्छ । राजतन्त्र उन्मूलन गर्न सफल जनताले आफ्नो पार्टीभित्रका राजाहरूलाई पनि ठीक पार्न सक्नुपर्छ । अहिले नै नेपालमा नयाँ विकल्पको उदय भएर पूर्णराजकीय सत्ता हातमा लिन सक्ने सम्भावना देखिँदैन । आफू बिग्रेको स्वीकार नगर्ने पुराना पार्टीलाई सबक सिकाउनको लागि बिग्रेका तर सुधारिन तयार पार्टी र खास नयाँ शक्तिहरूबीच सहकार्य आवश्यक छ । अन्यथा समयले सबैलाई साइजमा ल्याउने छ ।
टिप्पणीहरू