संगीन मोडमा तटस्थ बस्न पाइन्न

समर शेष है, नहीं पाप का भागी केवल व्याध जो तटस्थ हैं, समय लिखेगा उनके भी अपराध ।
– रामधारी सिंह दिनकर
जीवनयात्राका हरेक मोडमा नयाँ–नयाँ सहयात्री, नयाँ दृश्य, नयाँ सोच र नयाँ विश्वास पलाउँदै जान्छन् । बाटो काट्दा बीचमा पुगिन्छ तर बीचमै हिँड्न सकिँदैन । एउटा किनारा समात्नै पर्छ । तटस्थ कोही रहन सक्दैन । तर, केही मान्छेले संगीन मोडमा तटस्थताको सुख भोग्छन् । ती औसतखाले मनुवा हुने गर्छन् ।
यतिबेला राजतन्त्रवादी जुर्मुराएका छन् । गणतन्त्रवादीले यथोचित प्रतिकार गरिरहेका छैनन् । परिवर्तनका अगुवा र पार्टीहरू स्पष्ट बोलिरहेका छैनन् । केही मान्छेले यो २० वर्षमा परिवर्तनवादीको क्रियाकलाप हेरेर पक्ष छान्न सकेका पनि छैनन् । व्यक्ति र विचारप्रतिको आग्रहका कारण अग्रगमनलाई धारेहात लगाउनेहरू पनि यहाँ कम छैनन् । चतुर राजनीतिज्ञहरू भने मौन बसेरै दुवै पक्षको हाइहाइ कमाउने कुटिल खेलमा छन् । त्यसमध्ये सबभन्दा पहिला नयाँ शक्तिको रूपमा उदाएका रवि लामिछाने र बालेन साह देखा पर्छन् ।
संघर्षबाट उदाएको व्यक्तित्व आरनमा फलाम खारिएर स्टिल बनेझैँ हुन्छ भने भीडबाट उदाएको मान्छे भीडले नै किचिएर ध्वस्त हुन्छ । भीड र खहरेको नियति उस्तै हो । भीडले सिंगारिएको मान्छे आवेग भरिन्जेल नायक कहलिन्छ । तर, मनसुनमा नभई दर्के झरीमा बग्ने खहरेको नियति सुक्नु मात्रै हो । सुक्नुअघि खहरेले खोलो बनेर नदी किनारमा उधुम मच्चाइसकेको हुन्छ । रूप र चरित्रमा फरक भए पनि रवि लामिछाने र दुर्गा प्रसाईंको नियत र नियति एकै प्रकारको हो ।
यी दुवैले भावनात्मक नारा र आक्रोशलाई प्रयोग गरेर आफ्नो प्रभाव बढाए । तर, उनीहरूको रूप, कार्यशैली र परिणाम भने फरक देखिन्छ । दीर्घकालीन नीति र उपलब्धिको अभावमा रविको भविष्य अनिश्चित छ । प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं’ अभियान चलाएर राजतन्त्र र हिन्दू राष्ट्रको वकालत गरेका छन् । उनको प्रभाव खासगरी परम्परावादी र असन्तुष्ट समूहमा देखिन्छ । तर, उनको आन्दोलन हिंसात्मक घटना र ऋण विवादका कारण विवादित बनेको छ । उनको सहारा राजतन्त्रवादी धार्मिक अन्धता मात्रै हो, न कुनै संगठन छ, न सतहमा देखिएको नेतृत्व । बयोवृद्ध पञ्च नवराज सुवेदी र एमालेबाट प्रज्ञाको श्रीपेच लगाएका जगमान गुरुङ दुवै उमेरले वैशाखी टेक्नुपर्ने अवस्थाका छन् ।
रवि, बालेन र भीम रावलले राजतन्त्रलाई सिधा समर्थन गरेको ठोस आधार त छैन । तर, उनीहरूको ‘राष्ट्रवादी भावना’, व्यवस्थाप्रतिको असन्तुष्टि र मौनताले परोक्ष समर्थन भने जन्माएकै हो । रविको तटस्थताले उनको व्यावहारिक राजनीतिक चाल र जनमतको संवेदनशीलतालाई प्रतिबिम्बित गर्छ । जेल जानुअघि उनले गणतन्त्रवादीसँग फोटो नखिचाउने भनेर आफ्नो कित्ता क्लियर गरेका छन् ।
वल समशेरले कांग्रेस र एमालेसँग खुब सहकार्य गरे । नेपालगञ्जको चोकस्थित बीपी कोइरालाको शालिकमा मोसो पोतेर, कालो कपडाले अनुहार छोपेर गणतन्त्रप्रति ढुलमुल कांग्रेसको राजतन्त्रवादी धारलाई स्पष्ट सन्देश दिए । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगरमा राजसंस्था पुनस्र्थापनाको मूल अभियन्ता मानिएका राप्रपा महामन्त्री उनी अहिले प्रहरी हिरासतमा छन् । सेभ द नेशनबाट राजनीति शुरु गरेका कुलीन समशेर भारतीय जनता पार्टीको राजनीतिक परिवार ग्वालियर राजघरानासँग जोडिएको हुँदा उनमा श्री ३ देव समशेरको विरासत भन्ने धङधङी अझै छ ।
थिएटरमा खेल्दैमा शेक्सपियरको नायक जुलियस सिजर बन्न सकिँदैन । रहर र सपनाले मूल्य खोज्छ । मान्छेसँग उसको पृष्ठभूमि पनि सँगै हिँड्छ । रवि र दुर्गाको इतिहासले उनीहरूलाई पछ्याउन छोड्दैन । छवि बनाउनु र प्रदर्शन गर्नु फरक कुरा हुन् । सत्ताप्यासले नायक खलनायकमा फेरिन्छ, व्यक्तित्व चकनाचुर हुन्छ । समय र परिस्थितिको नाडी छाम्न नसक्दा हरेक मान्छे पछारिएर ज्ञानेन्द्र शाह बन्न सक्छ ।
अन्य पार्टीसँग जोडिएका सहकारी अपराधी छाती फुलाएर हिँडिरहँदा रविप्रतिको सरकारी अतिशयोक्तिमा दोष देखिन सक्ला । तर, उनलाई निर्दोष भन्न सकिने अवस्था पनि छैन । आवेग र तर्कले गफलाई सत्य सावित गर्न सकिँदैन । उनी र श्रीमतीको बैंक खाता आफैँ बोल्छ । लामिछानेले अमेरिकामा मासिक १ लाख डलर कमाएको दावी गरे । तर, प्रमाण सार्वजनिक रूपमा उपलब्ध छैन । भक्तजनसामु छवि निर्माणको यो अतिशयोक्ति थियो । उनले अमेरिकामा केही समय स्यान्डविच पसल चलाएको र पछि मिडियामा काम गरेको भने पक्कै हो ।
स्वार्थलाई यति छुट दिनुहुँदैन कि विवेक ध्वस्त भएर रछ्यानमा मिल्कन पुगोस् । रवि र दुर्गाको उदय संसदीय शक्तिको अकर्मण्यता र नायकत्व थाम्न नसक्दाको कारण हो । माओवादी र एमालेले आधार र टेको दिए । पुल्पुल्याए । उपयोग गरेर विपक्षीलाई ध्वस्त पार्ने हतियार बनाए । आखिर हतियारको मालिक कोही हुँदैन, चलाउने मात्रै हुन्छ । आफ्नो कम्मरमा भिरेको खुकुरी अरूले थुतेर मालिकलाई नै छप्काउन सक्छ ।
व्यक्तिसँग आग्रह हुन सक्ला, पार्टीलाई समर्थन दिन नसक्ला । तर, अग्रगमनमाथि नै हमला हुँदा चोर र डाँकाको रोजाइमा पनि मौन बस्न सकिँदैन । केही मौकापरस्त गम्भीर विषयमा तटस्थ बस्न चाहन्छन् । राजावादीहरूको तीनकुने विभत्समा पनि रवि लामिछाने र बालेन साहको मौनता देखियो । गोमन सर्पभन्दा हरियो घाँसमा लुकाउने हरेउ खतरनाक हुन्छ । छिटो रङ फेर्ने छेपारो एउटा चरित्र हो, मूल्यहीन आवेगी सफलता खोज्नेको गुरु बन्न सक्छ ।
राजनीतिक शक्ति, संगठन वा व्यक्ति गम्भीर मोडमा मौन बस्दैनन् । स्पष्ट दृष्टिकोण र पक्षधरता जनाउँछ । ‘पर्ख र हेर, तब पक्षधरता जनाउँला’ भन्ने तर्क मौकापरस्तको हुन्छ, स्पष्टवादीको होइन । नदीको किनार पुग्नेले मझधारमै पौडी मात्र खेल्दैन, किनारा रोज्नै पर्छ ।
तर्कले आवेग भर्न त सकिएला तर हाँसको बथानमा रहेको कौवा बोलेपछि चिनिन्छ । नचिनेको दुष्टलाई देवता ठाने पनि, जब ऊ चिनिन्छ, तब एक–एक गरेर पर्दा खुल्दै जान्छ । अन्धभक्तले महानताको पगरी गुथाए पनि, सचेतजनले थाहा पाएपछि दुष्टलाई छोडिदिन्छन् । आवेगमा शक्ति हासिल गरे पनि मझधारमा धेरै बेर टिक्न सकिँदैन ।
दायित्व र संवेदनारहित विचार पत्कर हुन्, जसलाई सामान्य हावाले पनि उडाएर कता लगिदिन्छ भन्न सकिँदैन । भावनालाई हतियार बनाएर सत्तामा पुग्न सकिएला । तर, यदि त्यसको आधार बलियो नीति र दीर्घकालीन दृष्टिकोणमा नभएर उन्मादमा मात्र टिक्छ भने पतन अवश्यंभावी हुन्छ ।
टिप्पणीहरू