वर्ष दिनमा साढे सात सय बिते, तीन अर्ब बढीको क्षति
यो वर्ष विपद्का घटनाबाट साढे सात सयको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि चैत ३१ गतेसम्म विपद्का घटनाबाट सात सय ४७ जनाको निधन भएको छ । तीमध्ये सबैभन्दा बढी पहिरोबाट तीन सय ५१ जनाको मृत्यु भएको जनाइएको छ ।
त्यसपछि बाढीबाट ९७, चट्याङ लागेर ७८, आगलागीमा परी ७७, जनावरको आक्रमणमा परेर ४४, लेक लागेर २५, हवाई दुर्घटनाबाट २३, सर्पले टोकेर १९, वन डढेलोबाट दश, भारी वर्षा हुँदा आठ, हावाहुरीका कारण सात, डुंगा पल्टेर एक र अन्य विभिन्न कारणले सात जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । योसँगै पहिरोमा ४८ र बाढीमा १८ गरी ६९ जना बेपत्ता भएको प्राधिकरणको भनाइ छ ।
यो वर्ष आठ हजार ९१५ वटा विपद्का घटना भएका छन् । सबैभन्दा धेरै आगलागीका चार हजार १६८ वटा र त्यसपछि वन डढेलोका एक हजार १९७, पहिरोका एक हजार पाँच, भारी वर्षाका ५७४, जनावर आक्रमणका ४७८, चट्याङका ४२८, बाढीका ४१८, हावाहुरीका ३५९, लेक लाग्नुका ११३, सर्पदंशका ८४, भूकम्पका ७४, हिउँ पहिरो ६, डुंगा पल्टिनु र असिनाका एक–एक तथा अन्य सात वटा घटना भएका हुन् ।
विपद्का घटनाबाट एक हजार ७११ जना घाइते हुनुका साथै १९ हजार ४६ वटा घरपरिवार प्रभावित भएको प्राधिकरणले बताएको छ । यस अवधिमा तीन अर्ब १७ करोड ४२ लाख ६२ हजार ६६९ रुपैयाँ बराबरको धनमालको क्षतिसमेत भएको छ ।
टिप्पणीहरू