अवकाशपछि घर गएपनि नोटमा दस्तखत महाप्रसादकै

नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नयाँ सिरिज नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार तथा रंगमा हालै अवकाशप्राप्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट आजदेखि चलनचल्तीमा ल्याइएको जनाएको छ ।
नयाँ नोटको नम्बर न ४५ ०००००१ देखि भ १८ ९९९९९९ सम्म हुनेछ । अग्रभागको बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत, तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं.२०८१’ लेखिएको छ ।
नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’, मध्यभागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र, तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज फाइभ’ र सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी’ लेखिएको छ ।
यसअघि २०७७ मंसिर १० गतेदेखि पाँच रुपैयाँ दरको बैंक नोट संकेत नम्बर थ ३४ ०००००१ देखि न ५४ ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने भनिएपनि थ ३४ ०००००१ देखि न ४४ ९९९९९९ सम्म मात्र प्रचलनमा ल्याइएको थियो ।
टिप्पणीहरू