चितवनपछि कावासोतीमा पनि प्रचण्डको उस्तै दावी, बालुवाटारमा छलफल

चितवनपछि कावासोतीमा पनि प्रचण्डको उस्तै दावी, बालुवाटारमा छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको आयु धेरै लामो नभएको टिप्पणी गर्नुभएको छ ।

आइतबार गृहजिल्ला चितवन पुगेर ‘नयाँ वर्षमा नयाँ राजनीतिक कोर्ष बन्ने’ बताउनुभएका उहाँले आज नवलपुरमा पनि सोही दावी दोहोर्याउनुभएको हो । हुलाकी राजमार्गकेन्द्रीत तराई-मधेश जागरण अभियानअन्तर्गत कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले पछिल्लो घटनाक्रमले आफ्नो वाणी प्रमाणित हुँदै गएको पनि बताउनुभयो ।

‘मैले अस्ति चितवनमा बोल्दा कुनै दलका नेताहरुसँग भेटेर वा छलफल गरेर बोलेको त होइन तर, घटनाक्रमले यस्तै देखाएको छ’, प्रचण्डले भन्नुभयो, ‘मलाई लाग्छ मैले बोलेको सत्य हुँदै गएको छ, र भएरै छाड्छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले वर्तमान सरकारको आयु कम हुनुको कारणसमेत खुलाउनुभएको छ । ‘अहिले केपी ओलीको सरकारदेखि जनता मात्रै होइनन्, कांग्रेस र एमालेकै नेता र कार्यकर्ता असन्तुष्ट छन्, यो राम्रो संकेत होइन । यो नै सरकारको आयु कम हुँदै गएको आधार हो’, उहाँले थप्नुभयो । 

त्यस्तै, शिक्षक, चिकित्सक, लघुवित्त तथा सहकारी पीडित, विभिन्न दल एकैचोटी सडकमा आउनुले प्रधानमन्त्री ओलीको नालायकी छाताछुल्ल भएको प्रचण्डको भनाई छ । 

प्रचण्डले नयाँ वर्षको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिबारे यता प्रधानमन्त्री ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गम्भीर छलफल भएको बुझिएको छ । आज दिउँसो बालुवाटारमा भएको भेटवार्तामा सरकारको आयुबारे सिर्जना भएका शंका र हल्लाबारे लामो संवाद भएको बताइएको छ ।

भेटवार्ता सकिएलगत्तै प्रधानमन्त्री ओलीले ६ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ भने सभापति देउवाले बैशाख १७ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको अवस्था छ ।

टिप्पणीहरू