अमेरिकी अधिकारीहरुलाई पनि चीनकाे भिसा प्रतिबन्ध

अमेरिका र चीनबीच एकपछि अर्को निषेधको निर्णय हुन थालेको छ । विशेषगरी अमेरिकाले लगाउँदै आएका विभिन्न खालका प्रतिबन्ध,एकतर्फी निर्णयको जवाफमा चीनले प्रतिक्रिया जनाइरहेको पाइन्छ ।
हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टलेसमेत चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्र र त्यहाँका बासिन्दाबारे विगतमा अनावश्यक ढंगबाट गम्भीर कार्य गरेका भनिएका अमेरिकी अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाइएको जनाएको छ । दुई साताअघि वासिङ्गटनले पनि चिनियाँ अधिकारीहरुलाई अमेरिका प्रवेशमा भिसा सीमित गरिएको घोषणा गरेपछि बेइजिङको पछिल्लो निर्णय आएको हो ।
चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस भेटघाटमा प्रवक्ता लिन चियानले तिब्बतसम्बन्धी विषय नितान्त चीनको आन्तरिक मामिला रहेकोबारे पुनः प्रष्ट पारेका छन् । उनले भिसा प्रतिबन्धबारे भने, ‘जस्तालाई तस्तै जवाफ दिइएको हो ।’
दुई मुलुकबीच व्यापार युद्ध चर्केको बेला अमेरिकाले चीनमाथि तिब्बतको विषय उठाउँदै चिनियाँ अधिकारीहरुलाई अमेरिकी भिसा सीमित गरिएको जनाएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन विरोधीहरुले प्रचार गरेझैँ तिब्बतमा कुनै नराम्रो नरहेको उल्लेख गरे । उनले भने, ‘तिब्बत खुला छ । विदेशी मित्रहरुलाई तिब्बत भ्रमण र त्यहाँ व्यवसायका लागि चीन स्वागत गर्छ । तर,चीन र तिब्बत विरोधी कुनै पनि गतिविधिलाई छुट दिइने छैन । तथाकथित मानवअधिकार, धर्म र संस्कृतिको हल्ला गर्नु बेकार छ ।’
टिप्पणीहरू