नयाँ सिडिओलाई पिरलो

नयाँ सिडिओलाई पिरलो

काठमाडौंको सहायक प्रजिअ रहेका अनिल पौडेललाई गृह मन्त्रालयले चुच्चे नक्साको जिल्ला दार्चुलाको जिम्मेवारी दिएको छ ।

त २८ देखि जिम्मेवारी सम्हालेका पौडेललाई जिल्ला पुग्दानपुग्दै भारतीय पक्षबाट भइरहेको तटबन्ध निर्माणले चुनौती दिएको छ । दार्चुला सदरमुकाम नपुग्दै २८ गते पौडेल ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको अतिथिगृहमा बसेका थिए । भोलिपल्ट गल्फैक्षेत्रको महाकालीपारि भारतबाट निर्माण भइरहेको तटबन्धको विषय सार्वजनिक भइसकेको थियो ।

चैत्र १० गते जिल्ला प्रशासन कार्यालय दार्चुलाले पिथौरागढ जिल्लाका डिएम र धारचुलाका एसडिएमलाई पत्राचार गरी तटबन्ध निर्माण रोक्न आग्रह गरेको थियो । तर नेपाली प्रशासनको आग्रहलाई टेरपुच्छर लगाइएको छैन । जिल्ला प्रशासनले गृह मन्त्रालयलाई पनि लिखित जानकारी गराएको छ । तर गृहबाट कुनै पनि प्रकारको पहल र प्रतिक्रिया देखिएको छैन ।

जिल्लाको वस्तुस्थिति र आवश्यक ब्रिफिङ पूरा भइसकेको अवस्थामै पौडेललाई भारतीय तटबन्ध निर्माणमा केही कदम चाल्नै पर्ने बाध्यता आइलागेको छ । शुक्रवार बिहान कार्यालयमा हाजिर लगाएलगत्तै उनलाई सहायक सिडिओ मोहनसिंह धामी र सुरक्षा निकायका प्रमुखहरूले तटबन्ध निर्माणको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।

गाउँपालिकादेखि संघीय संसदका जनप्रतिनिधिसँग पनि आफूले मोबाइल सम्पर्क गरी तटबन्ध निर्माणलगायत जिल्लाको वस्तुस्थितिबारे परामर्श गरेको प्रजिअ पौडेलको भनाइ छ ।

भारतीय पक्षबाट तटबन्ध निर्माणबारे प्रतिउत्तर नआएको अवस्थामा थप सम्पर्क र समन्वय भइरहेको उहाँको भनाइ छ । सीमाक्षेत्रमा भारतीय पक्षले धेरै विषयमा नेपाली पक्षलाई बेवास्ता गर्ने गरेको छ । आफूलाई प्रतिकूल हुने विषयमा मौन रहने र पत्रको जवाफसमेत नदिने व्यवहार छ ।

अन्तर्राष्ट्रिय सीमाक्षेत्र जोडिएको जिल्ला भएकाले गम्भीर र संवेदनशील रुपमा आफूले कार्यसम्पादन गर्ने पौडेलको भनाइ छ । सदरमुकाम क्षेत्रको झण्डै ५ किलोमिटर लामो नदी किनार क्षेत्रमा दुबैतर्फ पक्की तटबन्धको संरचना बनिरहेको छ ।

खलंगाको बंगाबगर, खोतिला पहिरो, शिवनगर, खुलामञ्च पारी र गल्फ क्षेत्रमा महाकालीको किनार च्यापेर भारततर्फ तटबन्ध निर्माण भइरहेको छ । नेपालतर्फ अधिकांश कार्य सम्पन्न भइसकेको छ तर महाकालीको बहाव यता फर्काइँदा तटबन्धको पिँधमा निर्माण गरिएका स्पर र लञ्चिङ ब्लक क्षतिग्रस्त भएका छन् । 

टिप्पणीहरू