गठबन्धन जोगाउन धमाधम बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाउनुभएको छ । आज साँझ पाँच बजे कार्यदल र ६ बजे संयन्त्रको बैठक डाकिएको हो ।
सरकार ढल्ने चर्चाका बीच हिजो बालुवाटारमा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । सो भेटमा देउवाले कार्यदलको बैठक राख्न सुझाएको बताइएको छ ।
कांग्रेसभित्र सरकारको आलोचना बढिरहेका बेला प्रधानमन्त्रीले आज बोलाएको बैठकलाई अर्थपूर्ण मानिएको छ । बैठकमा गठबन्धनभित्रका असन्तुष्टि र सरकारको काम कारवाहीबारे छलफल हुने अनुमान छ ।
उच्चस्तरीय संयन्त्रमा एमालेको तर्फबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा छन् ।
टिप्पणीहरू