गभर्नर नियुक्तिमा ओली र देउवाबीच सहमति भैसकेको छ : मन्त्री गुरुङ

गभर्नर नियुक्तिमा ओली र देउवाबीच सहमति भैसकेको छ : मन्त्री गुरुङ

गभर्नर नियुक्तिमा भइरहेको ढिलाई र सत्ता साझेदार दलबीचको असमझदारीलाई लिएर सरकारका तर्फबाट धारणा सार्वजनिक भएको छ । 

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र साझेदार दल नेपाली कांग्रेसबीच भागबण्डा नमिलेका कारण गभर्नर नियुक्ति रोकिएको र त्यसले सत्ता समीकरण नै भत्किने अवस्था बनेको चर्चा भैरहँदा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङ त्यसबारे प्रतिक्रिया दिएका हुन् । उनले आपसी सहमतिमा छिट्टै गर्भनर नियुक्ति हुने दाबी गरे । 

मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउन क्षमतावान गभर्नर चाहिने भएकाले ढिलाई भएको उनको तर्क छ । सत्तारुढ दलहरुबीचमा यस विषयमा सहमति भइसकेको गुरुङले जिकिर गरे । सत्तारुढ दलको राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने उनले जानकारी दिए । 

‘समग्र मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएको कारण गभर्नर नियुक्तिको विषय सबै दलहरुको आ–आफ्नो चासो हुनु अस्वाभाविक हैन । हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ', मन्त्री गुरुङले भने, 'अब संयन्त्रको बैठक बस्दैछ । उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ । गभर्नरको समस्या चाँडै समाधान हुन्छ । अहिले पनि निमित्तको भरमा त हैन नि चलिरहेको । कार्यवाहक नै दिएर सञ्चालन भइरहेको छ ।’

सरकार शिक्षकका मागहरुप्रति संवेदनशील रहेको बताउँदै उनले त्यसनिम्ति बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको जानकारी दिए ।

टिप्पणीहरू