कोर टिम ‘अ क्यूब’ मा बदलिएको निष्कर्षसँगै घण्टीमा घमासान

कोर टिम ‘अ क्यूब’ मा बदलिएको निष्कर्षसँगै घण्टीमा घमासान

रवि लामिछाने सहकारी काण्डमा मुछिएदेखि नै अनेक किचलोमा पर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा फेरि नयाँ विवाद सल्किएको छ । 

रविको पार्टी भनिने रास्वपाका सांसद सुमना श्रेष्ठले कार्यवाहक सभापति डिपी अर्यालसमक्ष ‘एक व्यक्ति, एक पद’को अवधारणा प्रस्ताव गर्दै सहमहामन्त्रीबाट राजीनामा दिने तयारी गरेपछि आन्तरिक कलह बाहिर आएको हो । उनको यस्तो प्रस्ताव 'कोर टिम' लक्षित रहेको बताइएको छ । 

सुमनाले सहमहामन्त्री पद छोड्न लाग्नुको भित्रि कारण खुलाउँदै स्रोत भन्छ, ‘अहिले एक व्यक्ति-एक पदको कन्सेप्ट देखाएर सहमहामन्त्री पदबाट मात्रै राजीनामा दिन लाग्नुभएको हो, मन त पार्टीबाटै अलग  हुने हो । ०८४ लाग्नबित्तिकै पार्टीको साधारण सदस्य र सांसद दुवै पदबाट राजीनामा दिने रणनीति छ ।’

पार्टीभित्र ‘अनाडी, अनपढ र अव्यवहारिक’ पात्रहरु हावी भएको विश्लेषण गर्दै  उनले यहि स्थितिमा रास्वपा अघि नबढ्ने निष्कर्षसमेत निकटहरुलाई सुनाइसकेकी छन् । त्यसैले आगामी निर्वाचनमा स्वतन्त्रहरुको छुट्टै समूह बनाएर जानेबारे विभिन्न पक्षसँग सरसल्लाह भैरहेको बताइएको छ । 

‘देशभरबाट स्वतन्त्र उम्मेदवार उठाउने योजना छ, तर अहिले नै त्यसो भन्नु धेरै छिटो होला', सुमनानिकट स्रोतले खुलायो, 'दिदीले रविलाई भन्दा बालेनलाई बढी मान्नुहुन्छ । यसबाट के बुझ्ने, जनताको कुरा हो ।’ 

सुमना दिदीले रविलाई भन्दा बालेनलाई बढी मान्नुहुन्छ । यसबाट के बुझ्ने ?

बताइएअनुसार पार्टीभित्र सभापतिप्रति अन्य नेताहरुको पनि क्रमश: धारणा परिवर्तन हुँदै गएको छ । कोर टिमबाहेक अधिकांश नेताहरु व्यक्तिको पछाडि लागेर पार्टीलाई ध्वस्त बनाउन नहुनेमा खुल्न थालिसकेका छन् । 

सुमनासहित उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरु निशा डाँगी, विनिता कठायतलगायका नेताहरुले अब पार्टीलाई रविबिना नै अघि बढाउनुपर्नेमा जोड दिँदै आएको बताइन्छ । यसबीच सुमनाको राजीनामा प्रस्तावले थप तरंग ल्याएको छ । 

केही दिनअघि जनआस्था अनलाइनमा ‘सभापति जेल परेपछि सुमनाको गुप्त अभियान’ शीर्षकको समाचार प्रकाशित भएको थियो । विभिन्न कन्टेन क्रियटर, समाजका प्रतिष्ठित महिला, बौद्धिक वर्ग र सामाजसेवीहरुसँग उनले गोप्य रुपमा भेट्दै हिँडेको विषय उल्लेख छ । यो कुरा कार्यवाहक सभापति अर्यालको कानमा पुगेपछि सुमनलाई ‘मुकुल ढकाल’ बनाउन लागिएको चर्चासमेत व्यापक छ । 

सुमनाले भने यसलाई गम्भीररुपमा नलिएको र चिन्तासमेत नजनाएको बताइन्छ । बरु ‘सभापतिज्यूको कोर टिम अ क्यूब भयो’ भन्दै निकटहरुसँग उनले असन्तुष्टि जनाएको अवस्था छ । ‘जस्तो सभापति, उस्तै कोर टिम (अ क्यूब) भयो भन्ने उहाँको निष्कर्ष छ’, स्रोतले भन्यो,‘सुमनापछि विराजभक्त श्रेष्ठ, त्यसपछि निशा डाँगीहरुको पालो आउँछ । सभापतिको लागि बाहिर मिडियामा बोलेजस्तो छैन भित्र चाहिँ ।’ 

यसैबीच सुमनाले नेकपा (एमाले)का दुई महिला सांसदलाई समेत पार्टी परित्याग गर्न सुझाव दिँदै नयाँ समूह निर्माणको लागि प्रस्ताव गरेको बताइएको छ ।

टिप्पणीहरू