एकैचोटि प्रचण्डको बोली फेरियो, कांग्रेसले निष्कर्ष निकाल्यो
केपी ओली नेतृत्वको गठबन्धन सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भित्री खेलमा रहेको भनिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ सम्म सरकारमा नजाने दावी गरेका छन् ।
हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा आज रुपन्देही पुगेका उनले त्यहाँ आयोजित कार्यक्रममा त्यस्तो प्रतिक्रिया दिएका हुन् । केही दिनअघि प्रचण्डले काँग्रेसलाई सरकारको नेतृत्व लिन प्रस्ताव गर्दै आफ्नो पार्टीले निशर्त सहयोगको घोषणा गरेका थिए ।
प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर कांग्रेसका एकथरी नेता असन्तुष्ट रहेका बेला प्रतिपक्षी खेमाबाट यस्तो प्रस्ताव आएपछि सरकारको निरन्तरतालाई लिएर आशंका भैरहेको छ । सरकार ढल्न लागेको भन्दै सडकदेखि सिंहदरबारसम्म चर्चा बढेपछि मंगलबार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले बालुवाटारमा वार्ता गरेका थिए ।
दुई नेताबीच समीकरण जोगाएर जाने सहमति भएअनुसार हिजो दुई दलीय संयन्त्रको बैठक बसेको थियो । तर, सरकारप्रति सबैभन्दा बढी असन्तुष्ट रहेका कांग्रेस महामन्त्री गगन थापा संयन्त्रको बैठक गएनन् । थप छलफल गर्न कांग्रेस नेताहरु आज बिहानै देउवा निवास बुढानीलकण्ठमा जुटेका थिए ।
पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकले अहिलेको समीकरणलाई नै मजबुत बनाएर लैजानुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । बैठकपछि उनले भने, ‘प्रचण्डजी प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् भन्नु स्वभाविक हो । उहाँले भनेको कुरामा हाम्रो टिप्पणी छैन । तर, उहाँले भनेको आधारमा सरकार बन्ने र भत्किने चाहिँ हुँदैन ।’
बुढानिलकण्ठले यो निचोड निकाल्नुअघि नै प्रचण्डले सरकारमा जाने हत्तारो नभएको अर्थ लाग्ने अभिव्यक्ति दिएका हुन् । हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता थपेको उल्लेख गर्दै भने, 'फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा छैनौँ ।'
जनतामा माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएका कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । भ्रष्टाचारी र भूमाफियाविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर प्रचण्डले आज पनि दोहोर्याए ।
'यदी कुर्सी प्राप्तिको लागि जे पनि गर्ने भए मेरो कुर्सी जानेवाला नै थिएन । म काँग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे । यदि मैले भ्रष्टाचारविरुद्धको अभियान छोडिदिएको भए', प्रचण्डको दाबी छ, 'राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरुलाई छोडिदिएको भए । या केही भ्रष्टचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्नेवाला नै थिएन । ’
टिप्पणीहरू