डेपुटी गभर्नरको पद पनि रिक्त

डेपुटी गभर्नरको पद पनि रिक्त

राष्ट्र बैंकमा रिक्त गभर्नरको पदपूर्ति नहुँदै दुईमध्ये एउटा डेपुटी गभर्नरसमेत खाली भएको छ । वेवसाइटमा यसअघि रहेका दुईजना डेपुटीमध्ये बमबहादुर मिश्रको मात्रै नाम,पद र नियुक्ति मिति उल्लेख छ । बैंक सञ्चालकहरुको विवरणमा निलम ढुंगाना तिम्सिनाले आफ्नो नीलो साडी लगाएको फोटोलाई सञ्चालक समितिको अध्यक्ष तथा कायम मुकायम गभर्नर उल्लेख गर्दै सबैभन्दा माथि राखेकी छन् । तर, कामु गभर्नर बनेको मिति उल्लेख छैन । 

पहिले उनको फोटो रहेको स्थानमा डेपुटी गभर्नर भनिए पनि व्यक्ति तोकिएको छैन । पदेन सदस्य तथा अर्थ सचिव घनश्याम उपाध्यायलाई आफूभन्दा मुन्तिर राखेकी छन् । त्योभन्दा तल मिश्र र सञ्चालकहरु क्रमशः चिन्तामणि सिवाकोटी,शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डेको नाम, फोटो र नियुक्ति मिति उल्लेख छ । अर्थ मन्त्रालयले गभर्नरको अनुपस्थितिमा डेपुटीहरुलाई वरिष्ठताको आधारमा कायम मुकायमको जिम्मेवारी दिने प्रशासनिक नियम छ । सोहीबमोजिम निलमलाई पनि चैत २५ गते मन्त्रीस्तरीय निर्णयबाट कायम मुकायमको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयको दाबी छ । 

यदि सरकारले गभर्नरमा अरु कसैलाई नियुक्त गर्यो भने निलमको नाम डेपुटीमा ओर्लेला कि राजीनामा आउला ? अन्यौल बढ्दो छ ।

यता,निलमले हिजोदेखि बैंकका सबै विभाग,कार्यालय तथा महाशाखाको जिम्मेवारी मिश्रलाई दिएर आफू गभर्नर सरह भएको जनाउ दिएकी छन् । यसबाट बैंकमा रिक्त गभर्नर पदमा हालसम्म कोही पनि नियुक्त नभएको अवस्था एकातिर छ भने अर्कोतिर निलमले डेपुटी गभर्नर रिक्त रहेको जनाउ दिइसकेकी छन् । यस्तो गर्न मिल्छ भन्ने जनआस्थाको जिज्ञासामा एकजना भूतपूर्व गभर्नर भन्छन्,‘छाडातन्त्र भनेको यही हो । नियम,कानुन नपढ्ने सतही जानकारहरुले गर्ने यस्तै यस्तै हो । विशेष अवस्थामा क्याबिनेटले विशेष निर्णय गरेर दिने कायम मुकायमको अवस्था अहिले उनलाई दिएको कायममुकाय होइन ।’

सरकारले तत्कालीन गभर्नर विजयनाथ भट्टराईमाथि अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दापछि रिक्त भएको पदमा क्याबिनेट बैठकको निर्णयपछि डेपुटी कृष्णबहादुर मानन्धरलाई कायम मुकायमको जिम्मेवारी दिएको थियो । लामो समयसम्म मुद्दा मामिलाको झमेलामा गभर्नर भट्टराई अल्झेपछि बैंकको नोटमा दस्तखत गर्नेसम्मको हैसियत मानन्धरलाई दिइएको थियो । २०६३ को राजनीतिक परिवर्तनपछिको उक्त अवस्थामा राजाको पोट्रेट र श्री ५ को सरकार लेखिएका सबै नोट खिचेर नयाँ नोट छाप्नुपर्ने अवस्थामा सरकारले विशेष निर्णय गरेको थियो । 

अहिले ढुंगानालाई दिइएको कायममुकायमको हैसियत राष्ट्र बैंकको दैनिकी सञ्चालनका लागि मात्रै भएको ती गभर्नरले बताए । २०६५ माघमा भट्टराईको ठाउँमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले दीपेन्द्रबहादुर क्षेत्रीलाई गभर्नरमा नियुक्त गर्यो । त्यसपछि मानन्धरको कायममुकायम हट्यो । २०६६ साउनमा सर्वोच्चबाट मुद्दा जितेपछि पदबहाली गरेका भट्टराईले माघमा अवकाश पाए भने मानन्धर डेपुटी गभर्नरबाट सोही वर्षको चैतमा अवकाश भएका  हुन् ।

त्यसबेलाको अवस्था सम्झँदै गभर्नर कार्यालयका एकजना अधिकृतले भने, ‘मानन्धर सरले सबै काम आफ्नै कार्यकक्षबाट गर्नुभयो । वेवसाइटमा गभर्नर भट्टराईको फोटो र नाम सँधै राखियो । उहाँले कायम मुकायम गभर्नर कागजी पत्राचारमा मात्रै गर्नुभयो,वेवसाइटमा लेख्नुभएन । तर अहिले म्याडमले त ठ्याक्कै उल्टो गर्नुभएको सुनिन्छ ।’ तीन वर्षअघि गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले निलम्बन गरेपछि पनि निलमले अधिकारीको फोटो हटाएकी थिइन् । उनलाई त्यतिबेला पनि प्रशासनिक काम गर्ने हैसियतमा अर्थ मन्त्रालयले कायम मुकायमको पत्र दिएको थियो । 

यदि सरकारले गभर्नरमा अरु कसैलाई नियुक्त गर्यो भने निलमको नाम डेपुटीमा ओर्लेला कि राजीनामा आउला ? अन्यौल बढ्दो छ ।

टिप्पणीहरू