राजाका लागि राजेन्द्र थुनिन तयार

राजाका लागि राजेन्द्र थुनिन तयार

राजसंस्था पुर्नस्थापनाको लागि शान्तिपूर्ण आन्दोलन गर्ने बताउँदै आएको पूर्वपञ्चहरुको पार्टी राप्रपा बैशाख ७ गते भने आक्रामक ढंगले प्रस्तुत हुने भएको छ । 

आज बसेको कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । उनका अनुसार बैशाख ९ गते पनि पार्टीले ७७ जिल्लामा प्रदर्शन गर्ने तय भएको छ । 

पदर्शनको क्रममा निषेधित क्षेत्र तोडिए पनि राप्रपा हिंस्रक र अराजक नबन्ने लिङ्देनको विश्वास छ ।  ‘निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय भएको छ’, उनले भने, ‘तर हाम्रो प्रदर्शन शान्तिपूर्ण हुन्छ ।’

अध्यक्ष लिङ्देनलाई पत्रकारले सोधेको थिए, 'निषेधित क्षेत्र तोडेपछि प्रहरीले पनि बल प्रयोग गर्ला, त्यसपछि सिर्जना हुने परिस्थितिको कल्पना गर्नुभएको छ ?'  जवाफमा उनले ‘बरु थुनिन तयार’ रहेको बताए । 

‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामुहिक रूपमा थुनिन तयार भइसकेका छौँ, राजेन्द्र लिङदेन थुनिन तयार भइसकेको छ भन्ने सन्देश हाे याे’, उनले भने । 

स्मरणीय छ, संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक प्रा.डा. जगमान गुरुङले पनि तीनकुने घटनामा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई बैशाख २१ गतेभित्र रिहाइ गर्न अल्टिमेटम दिएको छ । अन्यता भोलिपल्ट (बैशाख २२) सामुहिक गिरफ्तारी दिने उनीहरुको घोषणा छ ।

टिप्पणीहरू