ओलीको कुराले शिक्षक र एमाले नेताबीच घोचपेच

ओलीको कुराले शिक्षक र एमाले नेताबीच घोचपेच

शिक्षक आन्दोलनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको रुखो टिप्पणीले रुष्टिएका एमाले निकट शिक्षकहरुले आज पार्टीका नेतालाई भेटेर दुखेसो पोखेका छन् । 

उपमहासचिव प्रदिप ज्ञवाली र सचिव योगेश भट्टराईसहितका नेता र शिक्षक संगठनका प्रतिनिधिबीच आज बिहान भेटवार्ता भएको थियो । त्यसक्रममा शिक्षक आन्दोलनप्रति पार्टी र प्रधानमन्त्रीले 'बक्रदृष्टि' राखेको गुनासो गरेका उनीहरुलाई नेताहरुले उल्टै 'हप्कीदप्की' गरेर पठाएको बताइएको छ । 

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले थालेको काठमाडौं केन्द्रित आन्दोलन आज पन्ध्रौँ दिन पनि जारी छ । चैत २० गतेदेखि सडकमा उत्रिएका उनीहरु माग पूरा नभएसम्म कार्यक्षेत्रमा नफर्किने अडानमा छन् । तर, सरकारले उनीहरुका माग सम्बोधन हुने विश्वास दिलाउन सकेको छैन । उल्टै प्रधानमन्त्री ओली आन्दोलनकारी शिक्षकलाई हियाउने हिसाबले प्रस्तुत भएको स्थितिले आक्रोश बढाएको देखिन्छ । 

यसबीच एमाले शिक्षक संगठनका नेताहरु आफ्नो सरोकार सुनाउन च्यासल पुगेका हुन् । बताइएअनुसार शिक्षक आन्दोलनलाई कमजोर नआँक्न चेतावनी दिँदै शिक्षक प्रतिनिधिले ०८४ को चुनावमा देशैभरबाट हराइदिन सक्ने ताकत आफूहरुसँग रहेको बताएपछि पार्टीका नेता रिसाएका थिए । 

त्यसक्रममा घोचपेच र कटाक्षसमेत चल्यो । 'पार्टीलाई हामी ०८४ सालमा देशैभरबाट जिताउन पनि सक्छौँ र हराउन पनि सक्छौँ भन्ने कुराको हेक्का रहोस्', लुम्बिनीको प्रतिनिधित्व गर्दै छलफलमा सामेल शिक्षक नेताले चेतावनी दिंदै भने ।  

प्रधानमन्त्रीको टिप्पणीले शिक्षकलाई अपमान महसुस भएको भन्दै कर्णालीका प्रतिनिधिले आपत्ति जनाएका थिए । 'हामी अहिले अन्योलको अवस्थामा छौँ । शिक्षकप्रति एमालेको स्पष्ट धारणा के छ भन्ने बिषयमा नै हामी अनविज्ञ भयौँ', उनको भनाई रह्यो,  'शिक्षकहरुलाइ दुर्व्यवहार गर्ने खालकाे धारणा प्रधानमन्त्रीज्यूबाट आएकाे छ । यसले हामीलाई अपहेलना गरेको महसुस भइरहेको छ ।' 

शिक्षकहरु लगातार १६ दिनसम्म सडकमा उत्रँदा सरकारको तर्फबाट सामान्य चासोसमेत नहुनु बिडम्बनापूर्ण हो भन्दै सुदूरपश्चिमका प्रतिनिधिले गुनासो गरेका थिए । शिक्षक कसैको पेवा नभएको भन्दै उनले हेप्ने काम नगर्न चेतावनी दिएको बताइन्छ । 

शिक्षक प्रतिनिधिका कुरा सुनेपछि पार्टी र सरकारको तर्फबाट बोलेका उपमहासचिव ज्ञवाली र सचिव भट्टराई कडारुपमा प्रस्तुत भए । 'तपाईंहरुलाई के लाग्छ, शिक्षक संगठन सिध्याउन पार्टी लाग्छ ? आक्रोशित सुनिएका भट्टराई प्रधानमन्त्रीको बचाऊमा उभिएका थिए ।  

सडकमा ओलीलाई ८ कक्षा फेल भनिएकोमा चित्त दुखाएका उनले भने, 'यसरी होच्याउन पाइंदैन, शिक्षक संगठनहरुले रोक लगाउनुपर्छ ।' चित्त नबुझे पार्टी छोडेर बाटो लाग्न चेतावनी दिँदै थप कड्किए, 'अहिले नेकपा एमालेविरुद्ध क्याम्प खडा गरेर बदनाम गरेर हिंड्नुभन्दा बरु असन्तुष्टि भए प्रधानमन्त्रीसमक्ष स्पष्ट धारणा राखेर पार्टीबाट छुटिन्छौँ भनेर भन्नुस् ।'

संविधान र व्यवस्थामाथि आक्रमण भइरहेका बेला शिक्षकहरुले साथ दिनुपर्नेमा उल्टै आन्दोलनमा उत्रिएको भन्दै रिसाएका नेता भट्टराईले सोधे, 'के यो समय ठिक हो ? तपाइहरुको समस्या सरकारले बुझेको छ ?' 

शिक्षकका माग र मुद्दामा भन्दा बढी पार्टीको कुरा निकालेका उनले अगाडि भने, 'एमालेलाई घुँडा टेकाउने प्रयासमा केही संघसंस्था तथा पार्टीहरु लागि परेका छन्, तर सबैले बुझे हुन्छ, एमालेले घुँडा टेक्दैन ।'  

उपमहासचिव ज्ञवाली भने तुलनात्मकरुपमा शिक्षक आन्दोलनप्रति गम्भीर देखिएको बताइएको छ । शिक्षकहरुको समस्या मुलुकको साझा समस्या भएकाले सबैले मिलेर समाधान खोज्नुपर्नेमा उनले जोड दिएका थिए । 

'संविधान बन्दा शैक्षिक क्षेत्रको माैलिक हक र अधिकारकाे सुनिश्चितता गरिने भन्ने थियो, तर यसकाे लागि सामुदायिक शिक्षाको गुणस्तरमा सुधार आएको छैन', ज्ञवालीले भने । त्यसक्रममा उनले २०७५ सालमा एमाले सरकारमा हुँदा १३ हजार शिक्षक स्थायी भएको सन्दर्भ निकाल्दै अहिलेको मागको सम्बन्धमा पनि शिक्षक महासंघसँग सहकार्य अपरिहार्य रहेको बताए ।

पाईहरुलाई यतिकै फर्किनुस् भन्ने कुरा त आउँदैन तर, हालको समय पार्टीको बिरुद्दमा जाने समय होइन', उनले भनाई रह्यो । आन्दोलन रोकेर वार्ताद्वारा टुङ्गोमा पुग्न शिक्षक संगठनको साथ र सहयोगको अपेक्षा गरेको ज्ञवालीले बताए ।

टिप्पणीहरू