शौर्यको खानीले आहालेका स्थानीयलाई आहत
‘घरमाथिको डाँडाबाट दिनहुँ पाँच–छ सय ट्रिपर ढुंगा निकालिन्छ । डाँडामा मेशिनले ढुंगा उत्खनन गर्दा कतिबेला घरमा खस्ने हो भनेर हामी दिनभरि गाउँतिर डुल्छौं । सिमेण्ट उद्योगले उचित मुआब्जा दिनु त टाढाको कुरा, सोधखोज गर्नपनि आउँदैन’,उदयपुरकी सुनमाया पुलामी मगरको दुःखेसो हो यो । वडा नम्बर–८ आहाले निवासी उनको घर शौर्य सिमेण्टको ढुंगाखानीसँगै जोडिएको छ ।
सिमेण्ट कम्पनीले घर बनाइदिने आश्वासन दिएपछि फर्किएर पनि हेर्न नआएकोमा उनको गुनासो छ । आफ्नो घर जतिबेला पनि पुरिने त्रासमा उनी छन् । सुनमाया मात्रै होइन्, छिमेकी वृद्ध कृष्णमाया पुलामी, सन्तबहादुर थापामगर, गमसिंह पुलामीलगायत सात घरपरिवार एउटै पीडाबाट ग्रुज्रिरहेको छ ।
दुई दिनदेखि परेको पानीले उनीहरु आफ्नो घर छाड्न बाध्य भएका छन् । अरुको घरमा शरण लिइरहेका उनीहरुको घर ढुंगाखानीले पुर्ने त्रास छ । खानीबाट एक सय मीटर तलतिर रहेका उनीहरुको घर छ । ढुंगा उत्खननले घरबारविहिन बनाउन लाग्दासमेत सरोकारवालाले कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ ।
आहालेमा ५५ घरधुरी छन् । तीमध्ये छ घरधुरी विस्थापित भइसकेका छन् भने सात घरधुरी विस्थापितको लाइनमा छन् । वर्षाको मौसम शुरु भएसँगै ती सात घरधुरी त्रासदीपूर्ण जीवन बाँचिरहेका छन् । केही समयअघि कृष्णमायाकी बुहारी नुहाउने क्रममा माथिबाट ढुंगो खस्यो । छानो बलियो भएकाले बुहारीलाई केही नभएपनि शौचालय ध्वस्त बनेको उनी बताउँछिन् ।
कौडीमा मुआब्जा
मगर समुदायको बाहुल्यता रहेको आहालेमा नेपाल माइनिङ, सिद्धिचरण र जयश्री मल्टिप्रपोजले व्यक्तिसँग जग्गा खरिद गरेर ढुंगा खानी सञ्चालन गरिरहेको छ । कम्पनीले त्यहाँबाट मिर्चैयास्थित शौर्य सिमेण्ट र हेटौंडाको रातमाटेस्थित रिद्दिसिद्धी सिमेण्टलाई ढुंगा सप्लाई गर्छ । स्थानीयका अनुसार ढुंगा खानी सञ्चालनकै लागि कर्णबहादुर थापा, कर्णबहादुर बलामी, लिलाबहादुर तामाङ्ग, टेकबहादुर मिरिङ्चिङ, गमसिंह पुलामीले आठ वर्षअघि कौडीको भाउमा जग्गा बेचेका थिए । रोपनीको ५० हजारदेखि दुई लाख ५० हजारसम्ममा डाँडो खरिद गरिएको हो । अहिले ती परिवार बरभञ्ज्याङ पुगेका छन् ।
पुरा होला प्रतिबद्धता ?
खानी सञ्चालन गर्ने बेलाको प्रतिबद्धता पूरा नगरेपछि स्थानीय आक्रोशित बनेका हुन् । प्रत्येक घरधुरीलाई रोजगारी, उचित मुआब्जा, हेल्थपोष्ट निर्माण, एउटा एम्बुलेन्स, बाटोघाटो अनि विद्यालय निर्माणको आश्वासन दिइएको थियो । तीन सय जनसंख्या रहेकोमा छ जनालाई रोजगारी दिइएको छ । उनीहरु न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् । यता, स्वास्थ्य चौकी र बाटो निर्माण पनि अलपत्र छ ।
प्रतिबद्धता पूरा गराउन स्थानीयले संघर्ष समिति गठन गरेका छन् । उनीहरु घरिघरि आन्दोलन गर्छन् । स्थानीयले मेयर राजेशचन्द्र श्रेष्ठको ध्यानाकर्षण पनि गराए । सात घरपरिवारलाई उचित मुआब्जा दिलाइदिन वा अन्यत्र बसाइँ सराईको व्यवस्था मिलाइदिन आग्रह गरेको धेरै भइसकेको छ । तर, मेयरले वास्ता नगरेको स्थानीयको आरोप छ । खानी छेउमै घर भएकी ५६ वर्षीया धनमाया मगर मेयरसँग पीडितको समस्या सुन्ने समय नै नरहेको भन्दै गुनासो पोख्छिन् ।
उनले भनिन्,‘समस्या राखेपछि स्थलगत अनुगमनका लागि मेयर आए, गाडीमा कालो चश्मा लगाएर । डाँडापाखा हेरेर हात हल्लाउँदै फर्किए । उहाँसँग त हाम्रो समस्या सुन्ने समय नै रहनेछ । जनप्रतिनिधिले नै हामी जनताको समस्या समाधान गर्न चासो दिँदैनन्, अरुले के गर्छन् ?’
ट्रिपरबाट हुने ध्वनि प्रदूषणले वृद्धवृद्धा र बालबालिकाको कानमा समस्या देखिएको छ । यता, स्थानीय श्री रुपरानी प्राविधिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
कुलो पुरिदाँ किसानको रुवाबासी
आधा दशकदेखि सञ्चालित खानीले कुलो पुरिएको छ । जसका कारण स्थानीय मर्कामा परेका छन् । कुलो पुरिएर सिचाइँ ठप्प भएपछि स्थानीयले वर्षे धान लगाउन पाएका छैनन् । ललरी खोलाबाट ल्याइएको कुलो ढुंगाले पुरिएपछि पाइपबाट खेतसम्म पानी पुर्याउने प्रतिबद्धता कम्पनीले दिएको थियो । तर, कम्पनीले त्यति पनि नगरिदिँदा २५ रोपनी खेत बाँझै छ ।
चरन क्षेत्रको अभाव
ढुंगा उत्खननका क्रममा निस्किने धुलोले मानव स्वास्थ्य मात्रै होइन, घरपालुवा जनावरको स्वास्थ्य पनि प्रभावित बनेको छ । जंगलमा घाँस धुलाम्मे हुँदा गाईवस्तुलाई चरन क्षेत्रको अभाव भएको छ । मकै र खोले खुवाएर गाईभैंसी पाल्नुपर्ने बाध्यता छ । गाईभैंसीले खोकेर किसानलाई हैरान बनाउने गरेको छ ।
स्थानीयहरु सरोकारवालासँग प्रत्यक्ष भेटेर आफ्ना समस्या सुनाउन चाहन्छन् । तर, त्यो अवसर जुरेको छैन् । केही समयअघि शौर्यका प्रतिनिधि राजन झा श्रीवास्तवलगायत खानीमा आएका थिए । उनीहरुले योग्यताअनुसार रोजगारी दिने भनेका थिए । तर, उनीहरुले खानी आसपासका स्थानीयहरुको जग्गा किनिदिने कुरै गरेनन् ।
धनमायाका अनुसार सिमेण्ट उद्योगसँग हामी कुरा मिलाउँछौं भनेर कमल थापा, राम घलेलगायत गाउँमा आउने गरेका छन् । तर, बलराम पराजुली भने आउन छाडेका छन् । उनीहरु तीनै जना बिचौलिया भएको धनमायाको जिकिर छ । सिमेण्ट उद्योगसँग उनीहरुले कमिसन लिने स्थानीयको आरोप छ ।
विस्थापित हुन विवश
ढुंगा खानीले प्रदूषण गर्दा कृषि उत्पादनमा ह्रास आएको छ । कोदो, मकै, धानलगायतका अन्नबालीलाई त्यसले नराम्ररी प्रभावित बनाएको छ । घरपरिवारको गर्जो टार्न स्थानीय काठमाडौंसहित पोखरा, वीरगञ्जलगायतका शहर छिरेका छन् । गाउँका एक जना वैदेशिक रोजगारीमा छन् ।
नागरिक स्वास्थ्य तथा पर्यावरण संरक्षण समिति, कटारीले खानी पीडितको समस्याप्रति संवेदनशील बन्न आग्रह गरेको छ । अध्यक्ष सन्तोष बराइलीले आहालेका खानी पीडितका समस्याप्रति स्थानीय सरकार, शौर्य सिमेण्ट उद्योग र खानी सञ्चालकहरु गम्भीर नभएका कानुनी उपचार खोजिने चेतावनी दिएका छन् ।
टिप्पणीहरू