विराटनगरमा पनि विनोद नै बलबान
नेकपा एमाले विराटनगर कमिटीमा संस्थापन इतर खेमाले बाजी मारेको छ । नयाँ नेतृत्व चयनका लागि हिजो भएको चुनावमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीद्वारा समर्थित रोहित कोइराला समूहलाई पराजित गर्दै बलराम गिरी नवीनको प्यानल नै विजयी भएको हो ।
१७३ मतका साथ गिरी अध्यक्षमा विजयी हुँदा कोइरालाले १२१ मत पाए । अन्य पदाधिकारी पनि गिरी खेमाबाटै निर्वाचित भएका छन् ।
प्राप्त जानकारीअनुसार उपाध्यक्षमा सुरज न्यौपानेले १४५ मतसहित जित हात पार्दा ओली पक्षधर राम पोखरेल १३६ मतमा रोकिए । सचिवमा विज्ञान चापागाईंले १८३ मत ल्याउँदा नवराज काफ्लेलाई १०४ भोट परेको छ ।
उपसचिवमा ओली खेमाका चन्द्र शेखर विश्वासले ९८ मत ल्याउँदा झन्डै दोब्बर १७८ मतका साथ इतर पक्षका हमिद आजाद विजयी भएको बताइएको छ ।
संस्थापन खेमालाई क्लिनस्विप गर्ने गिरीलाई जिल्लाका स्थापित नेता विनोद ढकालको समर्थन थियो । उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् ।
यासअघि मोरङ जिल्ला कमिटीमा पनि ओली पक्षका उम्मेदवारलाई हराउँदै ढकाल समूहले वर्चश्व कायम गरेको थियो ।
टिप्पणीहरू