धवल समशेरलाई छाड्नै लागियो

धवल समशेरलाई छाड्नै लागियो

तीनकुने प्रकरणमा समातिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा महामन्त्री धवलसमशेर राणालाई छोड्न लागिएको छ । 

क्यान्सर पीडित उनलाई उपचारका लागि हाजिर जमानीमा रिहा गर्ने तयारी भएको बताइएको छ । चैत १५ गते मेडिकल माफिया दुर्गा प्रसाईं नेतृत्वको 'नागरिक बचाऊ अभियान' को आह्वानमा भएको राजावादी प्रदर्शन भड्काएको आरोपमा उनी पक्राउ परेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका उनीमाथि अदालतबाट अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धन मुद्दा दर्ताको चरणमा पुगेको बताइएको छ । 

राणा गिजाको क्यान्सरका बिरामी हुन् । भारतको राजधानी नयाँ दिल्ली र मुम्बईको अस्पतालबाट उनले नियमित उपचार गराउँदै आएका छन् । राणालाई छोड्ने तयारीबारे जनआस्थाले बुधबार नै समाचार लेखेको थियो ।

 

जनआस्था साप्ताहिकको पछिल्लो अंक ( बैशाख ३, बुधबार) मा 'राजावादीतिर किन नरम हुँदै गए देउवा' शीर्षकको समाचारमा सो सम्बन्धी विवरण उल्लेख छ । 

उच्च स्रोतलाई उदृत गर्दै सम्प्रेषित समाचारमा गत शुक्रबार राप्रपाका नेताहरुले बूढानिलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको र त्यसक्रममा राणालाई छुटाउन पहल गरिदिन आग्रह गरेको बताइएको छ । 

राजाले समेत उदार भएर जेलमा रहेका बिपी कोइरालालाई उपचारका लागि अमेरिका पठाएको सन्दर्भ कोट्याउँदै राप्रपाका नेताहरुले राणाको हकमा पनि उदार भैदिन देउवाको ध्यानाकर्षण गराएका थिए । भेटमा अध्यक्ष राजेन्द्र लिङ्गदेन, पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बिक्रम पाण्डे सहभागी रहेको र तयसअघि नै अर्का पूर्वअध्यक्ष तथा बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले अलगै भेटेको विवरण पनि समाचारमा समावेश छ ।

टिप्पणीहरू