प्रधानमन्त्री चितवनबाट जवाफ फर्काउँदै, प्रचण्ड कपिलवस्तुमा

प्रधानमन्त्री चितवनबाट जवाफ फर्काउँदै, प्रचण्ड कपिलवस्तुमा

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकार ढल्न लाग्यो भन्ने हल्ला चलाएर के फाइदा हुन्छ ?’ भन्दै विपक्षीहरुलाई प्रश्न गर्नुभएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका पुग्नुभएका उहाँले प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै जति हल्ला चलाए पनि सरकार तलमाथि नहुने दावी दोहोर्याउनुभयो । 

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै नयाँ वर्षमा सरकार ढल्ने दावी गर्नुभएको थियो । ‘नयाँ वर्षले नयाँ राजनीतिक कोर्षलाई निकास दिने’ उहाँले बताउनुभएको थियो । 

प्रचण्डको उक्त अभिव्यक्तिपछि गठबन्धन सरकारको निरन्तरतालाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । चितवनबाटै प्रचण्डलाई जवाफ फर्काउँदै प्रधानमन्त्ती ओलीले भन्नुभयो, ‘देखिरहनुभएकै होला, सरकार आजै ढल्यो, भोलि ढल्यो, पर्सी ढल्यो, नयाँ वर्षमा ढल्यो भनेर कोही कोही । पुरानो इतिहास बोकेका दुई ठूला दल देशमा स्थायित्व र स्थिरता कायम गर्न एक ठाउँमा आएका हुन्, दुई चार जनाले हल्ला चलाएर के पाउँछन् कुन्नी ?’ 

उता प्रचण्ड भने पार्टी अभियानका करमा कपिलवस्तुको शुद्धोधन पुग्नुभएको छ । हिजो साँझ त्यहाँ पुग्नुभएका उहाँ बिहानैदेखि विभिन्न कार्यक्रम, भेटघाट, प्रशिक्षणमा व्यस्त हुनुहुन्छ । 

बिहान वडा नम्बर ४ मा रहेको नमूना माध्यमिक विद्यालय (प्रस्तावित कन्या कलेज)को अवलोकन गर्नुभएका प्रचण्डले मुस्लिम, थारु र मधेशी समुदायका छात्राहरुलाई लक्षित गरिएको उक्त कलेजको लागि संघीय सरकारको तर्फबाट केही सहयोग दिलाउने प्रतिबद्धता पनि गर्नुभयो । 

‘कलेजको आफ्नै बसहरु भइदियो भने, विद्यालयको भइदियो भने सजिलो हुन्छ भन्ने मेरो दिमागमा बस्दै आएको छ’, उहाँले भन्नुभयो, ‘म केही बसहरुको व्यवस्था गर्न सक्छु र त्यो व्यवस्था कसरी गर्ने भनेर मैले सोचिसकेँ ।’

टिप्पणीहरू