इन्जिनियर केटो जापानमा,यता युवतीको लाश
एक विवाहित युवतीको शंकास्पद मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले किटानी जाहेरी लिन आनाकानी गरेको पीडित पक्षले बताएको छ ।
पीडित परिवारले हिजो गरुडामा पत्रकार सम्मेलन गरेर आफ्नी छोरी अल्का ठाकुरको शंकास्पद मृत्यु भएको र प्रहरीले जाहेरी समेत लिन नमानेको बताएका छन् । मृतकका बाबु रौतहटको गढीमाई नगरपालिका ४ का रामकिशोर ठाकुरले आफ्नी छोरीको मृत्यु नै शंकास्पद भएको र प्रहरीले जाहेरी लिन नमानेर पीडकसँग मिलेको आरोप लगाए ।
गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरलाई फोन आयो – छोरी मर्न सक्छ,कस्तो कस्तो गरिरहेकी छ ?
ठाकुरले २०७६ जेठ ५ मा छोरी को बिहे दुर्गा भगवती गाउँपालिका ३ मत्सरीका प्रेमनारायण झाको छारा सन्जिव झासित गराइदिएका थिए । हुन त जेठो छोरासित बिहेको कुरो छिनिएको थियो तर भोलिपल्ट नै जेठो छोराको स्थानीय एक युवतीसित प्रेम बसेको र उसैसंग भागेपछि झाका कान्छा छोरासँग अल्काको बिवाह भएको थियो ।
केही दिनमै सबै ठीकठाक पारी बिहे भयो । कुनै तिलक र दहेज नलिने कुरो भए पनि बिहेमा साढे २२ लाख रुपैयाँ खर्च भएको ठाकुरको दावी छ । केटो जापानमा इन्जिनियर रहेको बुझिएकोले दिल खोलेर खर्च गर्न कुनै द्विविधा भएन । केही महिनापछि ज्वाईँले गाडी किन्छु भनेपछि साढे तीन लाख रुपैयाँ पनि कोजाग्रत पूर्णिमाको दिन ज्वाईँको हातमा थमाएको ठाकुरको भनाइ छ ।
बिहे भएको करिब ६ वर्षसम्म विवाह दर्तासमेत नगराएको र ज्वाईँ जापानमा बस्दा खासै राम्रो सम्बन्ध नहुँदा छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरेर आजीविका चलाउन थालेकी थिइन् । घरबाट अपहेलित भए पनि घरपरिवारमा मिलेर बस्ने र सबैलाई सहयोग गर्ने छोरीको बानी भएको कारण गत वर्षमात्र छोरीले ज्वाईँलाई ७ लाख रुपैयाँ दिएकी थिइन् । तर सबैतिर अपहेलनाको शिकार हुँदै जाँदा छोरी डिप्रेसनको शिकार पनि बन्न पुगिन् ।
भाइ मनमोहन ठाकुरले पत्रकार सम्मेलनमा भने, 'डिप्रेसन पनि पूर्णतया ठीक भइसकेको चिकित्सकको सम्पूर्ण रिपोर्टले बताउँछ । दिदीले औषधिसेवन पनि छोडिसक्नु भएको थियो ।'
गत बैशाख १ गते घरमा सबैले पूजापाठ गर्दै खुशियाली मनाइरहेको बेला ज्वाईँले गरेको फोनबाट झस्केका ठाकुरले गौर नगरपालिकाको सिसवा गाउँमा रहेको आफन्तलाई तुरुन्त फोन गरेर घटनाबारे बुझ्न पठाउँदा छोरी पंखामा झुन्डिएर मरेको अवस्थामा रहेको र प्रहरी तथा आफन्तले सबैतिरबाट घेरेको देख्दा उनी बेहोस् भएका थिए ।
प्रहरीले घटनास्थल मुचुल्का उठाई पोस्टमार्टमको लागि अस्पताल पठाउन लाग्दा ठाकुर परिवारले गौरमा पोस्टमार्टम नगरी काठमाडौँमा नै गर्ने अडान लिएपछि बाध्य भएर प्रहरीले मृतकको भाइ मनमोहन ठाकुरको साथमा शव काठमाडौँ पठाएको थियो ।
जेठो छोरासित बिहेको कुरो छिनिएको थियो तर भोलिपल्ट नै जेठो छोराको स्थानीय एक युवतीसित प्रेम बसेको र उसैसंग भागेपछि झाका कान्छा छोरासँग अल्काको बिवाह भएको थियो ।
काठमाडौँमा मृतकको शव बुझ्ने पनि भाइ मनमोहन नै हुन् । मृतकको शव रौतहट ल्याएपछि तीन ट्रक प्रहरीले घेरा हाली बलजफ्ती मत्सरीका आफन्तलाई बुझाएको आरोप ठाकुरको छ । रौतहटको गरुडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै मृतकका पिता रामकिशोर ठाकुर र आमा अनिताकुमारीले भक्कानिदै भने, 'अस्पतालमा लाश बुझ्ने मेरो छोरोलाई सद्गत गर्न नदिई प्रहरीले शव खोसेर मत्सरीका मानिसलाई बुझाए ।' शव माइती पक्षले लान्छु भन्दा उल्टै लाठी चार्ज गरेको गुनासो छ ।
"झा परिवारले बिहे भएको ६ वर्षसम्म छोरीको विवाह दर्ता गराएको थिएन,सोही परिवारसित मिलेर प्रहरीले हामीमाथि अत्याचार गर्यो-" पीडितका बाबु ठाकुरले सुनाए ।छोरीको मृत्यु भएको अवस्थाको फोटोसमेत खिच्न नदिएको आरोप ठाकुरको छ । झा परिवारले मिलेर हत्या गरी झुन्ड्याएको ठाकुरको परिवारको गुनासो छ ।
“अहिलेसम्म प्रहरीले हाम्रो निवेदन पनि लिन मानेको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी नलिने प्रहरीको भनाइ छ” । जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटका निरीक्षक उमाशंकर गुप्ताले पोस्टमार्टमको रिपोर्ट आएपछि दर्ता हुने बताउँदै घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताएका छन् ।
टिप्पणीहरू