लेबी उठाएर घर किनेको आरोप लागेका सिकेका नेता पक्राउ

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । ठगी तथा अपराधिक विश्वासघातको कसुरमा उनलाई प्रहरीले आज सप्तरीको राजविराजबाट समातेको हो ।
पार्टीका प्रवक्ता शरदसिंह यादवले केही दिनअघि यादवविरुद्ध ललितपुर प्रहरी प्ररिसरमा जाहेरी दिएको बताइएको छ । जाहेरीमा यादवले पार्टीको नाममा रहेको पैसा अपारदर्शी खर्च गरेको, पार्टीको नाममा जथाभावी पैसा उठाएको तथा फिर्ता नगरेको र पार्टीलाई हानी हुने गरी ऋण बनाउँदै हिँडेको दावी गरिएको छ ।
ललितपुर प्रहरीले हिजो अदालतबाट पक्राउ पुर्जी लिएर सप्तरी प्रहरीलाई खबर गरेपछि यादव आज पक्राउ परेका हुन् । यसअघि फागुन तेस्राे साता पार्टीको अनुशासन समितिले उनलाई चार बुँदे स्पष्टीकरण सोध्दै निलम्बनको लागि केन्द्रीय समितिसमक्ष सिफारिस गरेको थियो ।
लगत्तै पार्टीले उनलाई निलम्बन गरेको थियो । उनीमाथि पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेशमा बस्दै आएका ६० भन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेबीका नाममा करोडौं उठाएर काठमाडौंको कोटेश्वरमा घर किनेको आरोप छ ।
टिप्पणीहरू