गभर्नर नियुक्ति विवाद मुद्दा आज पनि हेर्न भ्याइएन
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दाबीसहित सर्वोच्च अदालतमा दायर पूरक रिट निवेदनसहितको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासको १३ औं नम्बरमा चढेको मुद्दामा पूरक निवेदनसमेत पेश गरिएको थियो ।
न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले वैशाख २ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले गभर्नर नियुक्तिको मुद्दामा पेचिलो अर्थ राख्नेगरी भट्टविरुद्ध पूरक निवेदन शुक्रबार दायर भएको थियो । उक्त निवेदन उमेर हदको मापदण्डको मुद्दासँगै झुण्डिएर पेशीमा चढेको हो ।
कार्यकारी निर्देशक भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको र नेताहरुको सहमतिका आधारमा भन्दै ऐनको बाटो छाडि नियुक्ति गर्ने दुषित क्रिया भएको दावी सहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पूरक रिट निवेदन दायर गरेका हुन् । त्यसअघि गभर्नर ६५ वर्ष उमेर नाघेका व्यक्तिकोसमेत नियुक्ति पाउने गरी संशोधन भएको मापदण्डको रिटसमेत अधिवक्ताद्वयले नै दायर गरेका हुन् ।
टिप्पणीहरू