यता गभर्नर खालि,उता सुनुवाई अनिश्चित
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दावीसहित सर्वोच्च अदालतमा दायर भएको पूरक रिट निवेदनमाथि आज पनि सुनुवाई नहुने भएको छ । अदालतले भर्खरै सार्वजनिक गरेको पेशी सूचीका आधारमा उक्त मुद्दाको सुनुवाई अनिश्चित भएको हो।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासको पुछारमा परेकाले आज पनि सुनुवाई हुन गाह्रो छ । मुद्दा आज तेस्रो दिन न्यायाधीशद्वय पौडेल र ढकालको इजलासमा २२ औं नम्बरमा पेशीमा चढेको छ । हिजो न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा १३ औं नम्बरमा चढे पनि हेर्न नभ्याइनेमा परेको थियो । आइतबार न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेको इजलासमा ४० औं नम्बरमा चढेको र हेर्न नमिल्नेमा परेपछि भोलिपल्टलाई सारिएको थियो ।
न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले वैशाख २ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले गभर्नर नियुक्ति मुद्दा पेचिलो बनेको हो । कार्यकारी दिर्नेशक भट्टविरुद्ध समेत पूरक निवेदन दायर भएपछि यसअघिको उमेर हदसम्बन्धी मापदण्डको मुद्दासँगै झुण्डिएर पेशीमा चढेको छ ।
गभर्नर नियुक्तिमा भट्टको योग्यता नपुगेको र नेताहरुको सहमतिका आधारमा उनलाई कानुनको बाटो छाडेर नियुक्ति गर्ने प्रपञ्च रचिएको दावीसहित अधिवक्ताहरु सर्वोच्च पुगेका छन् । ऐनको बाटो छाडी नियुक्त गर्ने दुषित क्रिया भएको दावीसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पूरक रिट निवेदन दायर गरेका हुन् ।
६५ वर्ष नाघेका व्यक्तिलेसमेत नियुक्ति पाउने गरी संशोधन गरिएको सरकारी मापदण्डलाई अधिवक्ताद्वयले चुनौती दिएका छन् ।
टिप्पणीहरू