को तिर हो यो कटाक्ष ?

को तिर हो यो कटाक्ष ?

एमाले अध्यक्ष केपी ओलीको पछिल्लो एउटा भाषणले एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी खेमा नराम्रोसँग झस्किएको छ । चैत २९ गते पार्टीको जागरण सभालाई संबोधन गर्न बुटवल पुग्नुभएका ओलीले अरु १५ वर्ष नेतृत्व नछोड्ने प्रष्ट सन्देश दिनुभएको थियो । भण्डारीले कार्यकर्ता भेटघाट गरेर फर्किएको एक सातापछि लुम्बिनीबाटै ओलीको त्यस्तो धारणा सार्वजनिक हुँदा पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्काएर नेतृत्वमा स्थापित गराउने अभियानमा रहेकाहरू झसंग भएका हुन् । ‘केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्, म धेरै बाँच्ने होइन, १५–२० बर्ष आशै नगरे हुन्छ, त्यसपछि पनि मभन्दा बलवान् नेताहरू पार्टीमा आउनेछन्’, ओलीको यो बोली पूर्व राष्ट्रपतितर्फ लक्ष्यित रहेको अड्कल काट्नेहरूले ठीक एक वर्षअघि पोखराको सन्दर्भ सम्झिएका छन् । २०८० साल चैत २३ गते एमाले जिल्ला कमिटी कास्कीका नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउँदै उहाँले ‘मेरा जुँगा काला हुन थाले, कपाल पनि उम्रियो, अझै २० वर्ष नेतृत्व गर्छु’ भन्नुभएको थियो । 

गत वर्ष वैशाखमा पार्टी सदस्यता नवीकरण गराएर राजनीतिमा पुनरागमन गर्ने स्पष्ट सन्देश दिनुभएकी भण्डारी केही समययता देश दौडाहामा हुनुहुन्छ । त्यसैक्रममा अघिल्लो साता लुम्बिनी प्रदेश पुग्नुभएको थियो । त्यहाँका नेता–कार्यकर्तासँग अन्तरंग संवाद गरेर काठमाडौँ फर्किएको केही दिनमै अध्यक्ष ओलीले बुटवलबाट दिएको सन्देश आफैँमा अर्थपूर्ण छ । अध्यक्षमा तेहेरिने तयारीका साथ विधानबाट ७० वर्षे उमेरहद डिलिट गराउनुभएका ओलीलाई चुनौती दिनसक्ने अर्को नेता अहिले एमालेमा देखिएको छैन । यो स्थितिमा ‘ओलीबिनाको एमाले असम्भव’ भन्दै उहाँले आफ्नो नेतृत्वलाई च्यालेञ्ज नगर्न पूर्व राष्ट्रपतिलाई घुमाउरो चेतावनी दिएको प्रष्टै बुझिन्छ । 

ओलीको स्वभाव नै हो जहाँ पनि ढिला पुग्ने र लामो भाषण गर्ने । कार्यकर्ताको ताली पाउन उस्तै परे अंग्रेजीमा उखान भन्न पनि पछि नपर्ने उहाँका मन्तव्य सुन्दा के बोल्दा कस्तो अर्थ लाग्छ भन्नेमा पनि धेरै ख्याल गरेको पाइँदैन । यसलाई केपी ओलीको विशेषता मानेर बुटवलको भाषणलाई पनि त्यही रूपमा बुझ्नुपर्ने एकथरीको तर्क छ । तर, अध्यक्षको खस्कँदो लोकप्रियतासँगै पार्टीको भविष्यसमेत संकटमा पर्ने चिन्ताले पूर्व राष्ट्रपति निवास धाउनेहरू भने बढी नै गम्भीर देखिन्छन् । 

हुन पनि हो, अघिल्लो पटक प्रतिनिधिसभा भंग गर्दासमेत सडकबाट ओलीको नेतृत्व क्षमतामाथि धेरै प्रश्न उठेको थिएन । पहिलो पटक सरकारको नेतृत्व गर्दा नाकाबन्दीविरुद्ध उभिएको भन्दै हाइहाइ नै भएको हो । तर, यसपटक भने अनेक विवादसँगै सरकारको कामकारवाहीले उहाँको लोकप्रियता निरन्तर ओरालो लागिरहेको छ । सार्वजनिक कार्यक्रममा जहाँ पुग्नुहुन्छ त्यहाँ ‘मूर्दावाद’ को नारा लाग्ने गरेकोमा पछिल्लो समय पार्टी कार्यकर्तामा समेत आकर्षण घटेको देखिन्छ । विगतमा ‘आई लभ यु बा’ भन्नेहरू गुपचुप रहँदा गृहशहर दमकमै उहाँ सहभागी कार्यक्रममा कार्यकर्ता र स्थानीयको रुचि देखिएन । त्यसअघि सिरहाको कार्यक्रममा दिनभर घाममा बसेका मान्छे ओली बोल्न मञ्चमा पुगेपछि जर्‍याकजुरुक उठेर हिँडेका थिए । यो स्थितिमा पूर्व राष्ट्रपतिलाई पार्टीमा फर्काएर नेतृत्वमा स्थापित गर्ने र उहाँकै अगुवाइमा कम्युनिष्ट एकता गराउने एकथरीको प्रयास जारी नै छ । यसअघि चाहना राखे पनि मुखर ढंगले प्रकट नभएकी उहाँ पूर्वराजा ज्ञानेन्द्रले ‘अब बेला भयो’ भनेजस्तै क्रमशः खुल्न थालेको देखिन्छ । हालैको एउटा अन्तर्वार्तामा उहाँले ‘जहाँ गयो त्यहाँ मलाई पार्टीमा आउनुपर्‍यो भन्नेहरू छन्’ भनेर पुनरागमनका लागि मसक्क आँटेको संकेत बुझिनेगरी दिनुभयो ।

‘उहाँको व्यक्तित्व निर्माणमा ओलीको हात छ । त्यसकारण अध्यक्षको सद्भाव लिएरै पार्टीमा फर्कने तयारीका साथ अहिलेसम्म कुर्नुभएको हो । तर, अब भने उस्तै परे भिड्ने तहमा पनि पुग्नुपर्छ भन्ने मनशाय बुझिन्छ’, भण्डारी निकट स्रोतले भन्यो । ओलीको उमेर र स्वास्थ्य अवस्थाबारे उहाँले पहिलोचोटी सार्वजनिक बहसमा कुरा ल्याएकाले पनि त्यस्तो अनुमान गर्न सकिन्छ । 

ओलीको बुटवल भाषणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि बढेको आत्मविश्वासका रूपमा पनि एमालेभित्रै एकथरीले अर्थ लगाएको पाइन्छ । प्रधानमन्त्रीको शपथलगत्तै दिल्ली जाने रहर गर्नुभएका उहाँले निम्तो माग्न परराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन पटकसम्म पठाउँदा पनि पार नलागेपछि अन्तर्राष्ट्रिय फोरमहरूमा साइडलाइन वार्ता गर्ने प्रयास थियो । ठूलो मेहनतपछि अघिल्लो साता थाइल्याण्डको राजधानी बैंककमा भेट सम्भव भयो । बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन पुगेका बेला त्यहाँ भएको एकल वार्तामा के–के कुराकानी भयो खुलेको छैन तर, त्यसपछि असाध्यै उत्साहित देखिनुभएका ओलीले सार्वजनिक कार्यक्रममा ०८४ पछि पनि कांग्रेस–एमाले सहकार्य नटुट्ने दावी गर्दै हिँड्नुभएको छ ।
 

टिप्पणीहरू