केपीले हैसियत गुमाएको माओवादी निश्कर्ष, वरिष्ठ उपाध्यक्ष सडकमा
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आन्दोलनरत शिक्षकहरुको मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले आज पार्टी केन्द्रीय कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा फास्ट ट्रयाकबाट शिक्षा ऐन ल्याउन सुझाएका छन् ।
शिक्षकहरुको अपमान हुनेगरी जथाभावी अभिव्यक्ति दिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसिरहने नैतिकता गुमाएको माओवादीको निष्कर्ष छ । ‘शिक्षा ऐन माग्दै अहिले शिक्षकहरु सडकमा छन्, तर प्रधानमन्त्रीले नै उनीहरुलाई होच्याउने र अपमान गर्ने काम गरिरहेका छन्’, सापकोटाले निष्कर्ष सुनाउँदै भने, ‘यो सरकार प्राविधिक रुपमा अस्तित्वमा त छ, तर राजनीतिक रुपमा वैधानिकता गुमाइसकेको छ, अब एक दिन पनि सरकारलाई सत्तामा बसिरहने नैतिक अधिकार छैन ।’
पूर्व सभामुखसमेत रहेका सापकोटाले ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले थालेको भ्रष्छाचारविरोधी अभियान उल्टाएको पनि बताए । ‘यो सरकारले प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानलाई उल्टाएर सुशासनको पक्षमा लागेका अधिकारीहरुलाई पदबाट हटाउने र राजीनामा दिन बाध्य पार्ने काम गरिरहेको छ, विचौलियाको स्वार्थ पुरा हुनेबाहेक अन्य कुनै काम गरेका छैन’, उनले थपे ।
सापकोटाले पार्टीको हुलाकी राजमार्गकेन्द्रीत तराई–मधेश जागरण अभियानमा झण्डै एक करोड जनता सहभागी भएको पनि जानकारी दिए ।
यसैबीच नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । आन्दोलनको २३औँ दिनमा श्रेष्ठसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही शिक्षकहरुको समस्या बुझ्न नयाँ बानेश्वरको सडकमा पुगेका हुन् ।
स अवसरमा पूर्व गृहमन्त्रीसमेत रहेका श्रेष्ठले मुलुकमा सरकार भन्ने चिज नै गायब भएको बताए । शिक्षकहरुको मागप्रति गम्भीर बनेर समाधानको मार्ग हिँड्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओली बिचौलियाको मार्गमा हिँडिरहेको उनको आरोप छ । ‘शिक्षकहरुको माग सम्बोधन गरेर घर फर्किने वातावरण बनाउन म सरकारलाई सचेत गराउन चाहन्छु’, उनले भने,‘हुन त अहिले सरकार नै गायब भएको जस्तो छ, कहाँ छ ? के गर्छ ? केही थाहा छैन, तर बिचौलियासँग उठबसमा चाहीँ निकै रुची राख्छ फेरि ।’
उता राप्रपा प्रवक्ता शाहीले पनि शिक्षकहरुलाई अपमान गरेर मुलुक उँभो नलाग्ने बताए । ‘गुरुहरुले पढाएर आज प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री बनेका हुन्, हामी सांसद बनेका हौँ’, उनले भने, ‘उनै गुरुहरुलाई निरुत्साहित गरेर राज्य अघि बढ्न सक्दैन, जीवनमा केही काम नपाएपछि मास्टर जागिर खा भनेर जुन तल्लोस्तरको भाष्य निर्माण गरिएको छ, त्यो अन्त्य हुनुपर्छ ।’
टिप्पणीहरू