बर्खास्तीमा परेका कान्छारामको दुःखेसो : ‘बा’ नभनेको परिणाम

बर्खास्तीमा परेका कान्छारामको दुःखेसो : ‘बा’ नभनेको परिणाम

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ बर्खास्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह उनलाई पदबाट हटाउनुभएको छ ।

विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएको तीन दिनपछि प्रधानमन्त्री ओलीले तामाङलाई किन बर्खास्त गरे ? कारण खोज्दै जाँदा ‘कुलमान फ्याक्टर’ जोडिन पुगेको छ । 

सरकारले गत चैत १० गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि तामाङले ऊर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए । त्यतिबेला जनआस्थासँग उनले भनेका थिए, ‘कुलमान भिजन भएको मान्छे हो, सरकारले एकदम गलत गर्यो ।’

यसरी सरकारको निर्णयविरुद्ध मिडियामा बोलेको भन्दै उतिबेलै परराष्ट्रमन्त्री डा. आरजू राणाले उनलाई ‘प्रधानमन्त्रीज्यू रिसाउनुभएको छ’ भनेर जानकारी गराएकी थिइन् । राणाले प्रधानमन्त्रीसँग भेटेर माफी माग्न सुझाएको तामाङ बताउँछन् । ‘पराष्ट्रमन्त्रीज्यूले प्रधानमन्त्री रिसाउनुभएको छ भनेर माफी माग्नुस् भन्नुभएको थियो, तर मैले मानिनँ’, उनले जनआस्थासँग खुलाए । 

आज गृहमन्त्री रमेश लेखकले फोन गरेर ‘राजीनामा दिनुस्’ भनेको पनि तामाङले जानकारी दिए । ‘तर मैले राजीनामा दिन्नँ, मलाई पार्टी (नेपाली कांग्रेस)ले मन्त्री बनाएको हो, पार्टीले फिर्ता बोलाएपछि मात्रै राजीनमा दिन्छु भनेँ’, उनले सुनाए । 

गृहमन्त्री लेखकसँग फोन गरेको एक घण्टापछि (४ बजेतिर) तामाङले आफू बर्खास्त भएको खबर प्राप्त गरेका थिए । ‘औपचारिक पत्र आएको छैन, अब त्यो जरुरी पनि छैन, ८÷१० महिना हात बाँधेर बसेको जस्तो भएको थियो, अब आनान्द भयो’, तामाङले भने । 

प्रधानमन्त्री ओलीलाई ‘हजुर’ र ‘बा’ भन्न नसकेकै कारण बर्खास्तमा परेको तामाङको बुझाइ छ । अघि भने, ‘उहाँ (ओली)लाई मैले अरुजस्तो हजुर, बा भन्न सकिनँ, उहाँलाई फेरि त्यही भन्नेहरु मात्र मन पर्दारहेछन्, यस्तोमा म कसरी पर्नु ?’ 

बर्खास्तीपछि तामाङले ‘राजनीति खेल हो, उनी (ओली) नै भोलि नरहन सक्छन्’ भन्दै चेतावनी पनि दिएका छन् । ‘यो खेल हो नि, पद आज छ, भोलि छैन, असारमा क्याविनेट हेरफेर गर्दा प्रधानमन्त्री नै नरहन सक्छन्, जे पनि हुनसक्छ, बहुमत त हाम्रैमा छ नि’, उनले घुमाउरो चेतावनी दिए । 

अब केही दिन राजधानीबाहिर गएर चिसो हावा खाने तामाङको योजना छ । ‘ठीकै छ, म फेरि चिल मान्छे हो क्या ! कहिले कता, कहिले कता घुमिरहनुपर्ने, बीचमा रोकिएको थियो, अब निस्कन्छु बाहिर हावा खान (हाँस्दै)’, उनको योजना छ ।

टिप्पणीहरू