देश बनाउन खोज्दा एमाले घेराबन्दीमा परेको शंकरको दाबी
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि चौतर्फी प्रहार र आक्रमण भइरहेको बताएका छन् । एमालेले देश बनाएकै कारण घेराबन्दी गरिएको दाबी गर्दै आएका उनले आज पनि त्यस्तै रटान दोहोर्याएका हुन् ।
ललितपुर-१५ खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण काेषकाे सभाहलमा आज बसेको पार्टीनिकट प्रेस चौतारीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै शंकरले भने, 'एमालेविरुद्ध कुण्ठा र आक्रोश पोख्ने काम भइरहेको छ । जसले जे अनुचित सपना देखेका थिए, त्यसको बाधक एमाले बनेको छ । त्यसैले, एमालेमाथि प्रहार भइरहेको छ ।’
एमालेले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेकै कारण विरोधीले घेराबन्दीमा पारेको उनको दाबी छ । हिजो भृकुटीमण्डपको कार्यक्रममा पनि शंकरले यहि कुरा बोलेका थिए ।
मुलुकमा विकासको सपना देख्ने र रणनीतिक ठूला विकास परियोजनाको काम गर्ने पार्टी एमाले मात्रै हो भन्ने उनको तर्क छ । लोकप्रियवादले समाजलाई दुर्घटनातर्फ लैजाने भन्दै उनले त्यसबाट देशलाई विकास र समृद्धि प्रप्त नहुने बताए ।
त्यस्तै, कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने उल्लेख गर्दै उनले नयाँ राजनीतिक शक्तिलाई लक्षित गर्दै अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको आरोप लगाए । पछिल्लो समय नकारात्मक समाचारले समाजलाई गलत दिशातर्फ लगिरहेको उनको भनाइ छ ।
‘पत्रकार समाजमा देखिने र सुनिने बन्नुपर्दछ, निर्णायक क्षणमा पार्टी र राष्ट्रको पक्षमा आफ्नो सामर्थ्य देखाउनुपर्दछ,’ महासचिव शंकरले भने ।
टिप्पणीहरू