प्रधानमन्त्रीलाई सुझाव, महामन्त्रीलाई धन्यवाद

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव सांसद वर्षमान पुनले सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् । 

संघीय संसद्को बर्खे (बजेट) अधिवेशनको आज पहिलो बैठकमा बोल्दै उनले सरकार संचालनमा बिचौलिया र स्वार्थ समूहको प्रभावबारे 'ढिलै भए पनि सत्य बोलेकोमा' धन्यवाद भनेका हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले विभिन्न नियामक निकायमा भएका नियुक्तिले सरकार र विचौलियाको घनिष्ठ सम्बन्धलाई प्रमाणित गरेको दावी गरे ।

‘धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र राष्ट्र बैंकको गभर्नर नियुक्तिको लागि भइरहेको चलखेलले सरकार विचौलियाबाट नियन्त्रित भइरहेको कुरा घामजत्तिकै छर्लंग छ’, उनले भने, ‘सत्तारुढ दलका शक्तिशाली महामन्त्री, सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भए पनि सत्य बोलिदिनुभएकोमा उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु ।’ 

सरकार गठन गर्दा भनिएको ‘संविधान संशोधन’को प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्कोसमेत नभाँचेको पुनको अनुभव छ । प्रधानमन्त्रीले आफ्नै अध्यक्षतामा गठन गरेको सुशासन आयोगको प्रसंगमा उनले साेधे, ‘सुशासन आयोग गठन भएको रहेछ, यसको मतलब अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण जस्ता निकायले काम गर्न नसकेका हुन् ? ती निकायको औचित्य सकिएको हो ?’

माओवादी नेता पुनले प्रधानमन्त्री ओलीलाई आत्मसमीक्षा गर्न पनि सुझाव दिएका छन् । विगतमा एमाले र ओलीसँग निकट सम्बन्ध बनाएका पात्रहरु नै अहिले राजावादी आन्दोलनमा लागेको बताउँदै उनले के यो संयोगमात्रै हो ? भनेर प्रश्न पनि गरे । 

‘अचम्मको कुरा त के छ भने, प्रतिगमनको झण्डा उठाउनेहरु कोही प्रधानमन्त्रीका पूर्व चुनावी सहकर्मी, कोही एमालेकै सूर्य चिन्हबाट चुनाव जितेका, कोही उहाँकै पार्टीका पूर्व केन्द्रीय सदस्य, कोही उहाँकै पार्टीका पूर्व सांसद, कतिपय त उहाँकै प्रिय पात्रहरु पनि हुनुहुन्छ, के यो संयोग मात्रै हो त ? प्रधानमन्त्रीले आत्मसमीक्षा गर्नुपर्दैन ? यो कसरी भयो ?’, उनले सुनाए ।

टिप्पणीहरू