उता आतंकवादी आक्रमण,यता उच्च सतर्कता
भारतको जम्मु–कश्मिरमा गत मंगलबारको आतंकवादी आक्रमणपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । चैत ३० गते वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको भिडन्त र आगजनीको घटना सेलाउन नपाउँदै कश्मिरमा भएको आक्रमणले आगोमा घिउ थप्नसक्ने सुरक्षा निकायको विश्लेषण छ ।
चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको र्यालीमा मुस्लिम समुदायले आक्रमण गरेको हिन्दूहरुको आरोप छ । मुस्लिमहरुले आफ्नो समुदायमाथि दाग लगाउने प्रयासस्वरुप उक्त घटना गराइएको बताएका छन् ।
यसैक्रममा कश्मिरको पहलगाममा मुस्लिम अतिवादीहरुले गोली प्रहार गरेर २६ जनाको ज्यान लिएका छन् । तीमध्ये बुटवलका एकजना नेपाली हिन्दुको समेत हत्या भएको छ । उक्त घटनापछि नेपालका राजनीतिक दल तथा हिन्दुवादी संघ संगठनहरुले प्रदर्शनसमेत गरेका छन् । आगामी दिनमा नेपालभित्र हिन्दूवादी संघ संगठनहरु हिन्दु सम्राट सेना,बजरंग दल,शिवसेना नेपाललगायतबाट उक्त घटनाको प्रतिरोधस्वरुप बाँके,मोरङ,सप्तरी, सिराहा,बारालगायत जिल्लामा विरोध कार्यक्रम हुनसक्ने सुरक्षा निकायहरुको विश्लेषण छ ।
हिन्दु र मुस्लिम समुदायले विभिन्न विषयमा सामाजिक सञ्जाल फेसबुक, टिकटकमा अराजकता फैलाउने क्रम शुरु गरेको बताइन्छ । त्यसका लागि उत्तेजक अन्तर्वार्ता,फोटो,भिडियो र समाचारहरु पोष्ट गर्ने,नकारात्मक कमेन्ट गर्ने प्रवृत्तितर्फ प्रहरीले सचेतनापूर्वक काम गरिरहेको स्रोतको दाबी छ । प्रहरीले सुरक्षा विश्लेषण गरेको प्रतिवेदनमा लेखिएको छ, ‘यस्ता गतिविधिले समेत अराजक स्थिति उत्पन्न गराई झडप तथा हिंसा हुनसक्ने देखिएकोले सम्बन्धित निकायहरुले व्यक्तिहरुको पहिचान गरी उच्छृङ्खल गतिविधि रोक्नेतर्फ पहल गर्न तथा स्थानीयस्तरमा सूचना संकलन,निगरानी गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउनका साथै उल्लेखित गतिविधिका सम्बन्धमा सूचना सम्प्रेषणको व्यवस्था हुन सादर अनुरोध गरिएको छ ।’



टिप्पणीहरू