भारत नेपाली भूमि हुँदै कैलाश लाने अन्तिम तयारीमा

भारत नेपाली भूमि हुँदै कैलाश लाने अन्तिम तयारीमा

भारतले विवादास्पद लिपुलेक हुँदै तीर्थालुलाई चीनको तिब्बत (सिजाङ) स्थित कैलाश मानसरोवर लैजाने भएको छ । भारतीय विदेश मन्त्रालयले आगामी जुनदेखि अगष्टसम्म ५०, ५० जना तीर्थालुको पाँच र १० वटा समूहलाई उत्तराखण्ड राज्यसँग जोडिएको लिपुलेक र पूर्वको सिक्किमस्थित नाथुला नाका हुँदै मानसरोबर पुर्याउने जनाएको छ ।  

लिपुलेक आफ्नो भएको दावी गर्दै नेपालले २०७७ जेठदेखि नक्सामा समावेश गरिसकेको छ । अहिले सोही नाकाबाट पाँच टोलीमा २५० जनाका दरले मानसरोबर जान इच्छुक भारतीयलाई निवेदनको निम्ति सूचित गरिएको छ । केएमवाई डट जिओभी डट इन वेवसाइटमा गएर इच्छुक भारतीय तीर्थालुले आवेदन गर्नुपर्ने छ । यसरी आवेदन हालिएकामध्ये विदेश मन्त्रालयले निष्पक्ष,स्वतन्त्र र कम्प्युटर प्रणालीबाट लैंगिक समानताको आधारमा छानिने जनाएको छ ।

सन् २०१५ देखि यो प्रक्रियाको आधारमा भारतीयलाई कैलाश मानसरोबर यात्रामा लगिएको भारतीय विदेश मन्त्रालयको दावी छ । भारतीय तीर्थ यात्रीहरु यसअघि नाथुला नाका हुँदै मात्र तिब्बतका धार्मिक स्थलमा पुग्ने गरेका थिए । 

लिपुलेक,कालापानी र लिम्पियाधुराको २७० वर्ग किलोमीटर क्षेत्र पछिल्लो छ वर्षदेखि विवादित छ । नेपालले दाबी गरेको तर भारतले नियन्त्रण जमाएको यस्तो भूभागबाट भारतीयलाई तिब्बत प्रवेश गर्न दिने उत्तरी छिमेकी चीनको समर्थनप्रति नेपाल सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

टिप्पणीहरू