काँग्रेस सांसद राईविरुद्ध म्याद थप गरिँदै
सहकारी ठगीको आरोपमा समातिएकी सत्तारुढ नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।
प्रहरीले सहकारी ठगीसहित संगठित अपराधको कसूरमा उनीमाथि अनुसन्धान अघि बढाएको हो । हिजो राति आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ लैजाने तयारी छ ।
जिबी राई अध्यक्ष रहेको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिनामा राईको संलग्नता देखिएको प्रहरीको दाबी छ । उनी उक्त संस्थाको सहसचिव पदमा समेत कार्यरत थिइन् ।
यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी तथा रविका व्यावसायिक साझेदार छविलाल जोशी मुछिएका छन् । क्रमश: ६० र ५० लाख धरौटीमा छुटेका रवि र छविसहित अन्य प्रतिवादीविरुद्ध मुद्दा चलिरहेको छ ।
तर, सत्तारुढ दलकी प्रभावशाली सांसद राईलाई भने अहिलेसम्म अनुसन्धानको दायरामा ल्याइएको थिएन । जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जीसमेत जारी गरेको अवस्थामा उनलाई सत्ताको आडमा उम्क्याइएको भन्दै संसददेखि सडकसम्म आलोचना भैरहेको थियो ।
चौतर्फी आलोचना बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सांसद राईलाई हिजो पक्राउ गरेको हो । परिसरको हिरासतमा रहेकी उनको पक्राउबारे हिजै संसद सचिवालयलाई पत्र लेखेर जानकारी गराइएको छ ।
परिसरका अनुसन्धान अधिकारी डिएसपी हरि खतिवडाले सभामुखलाई सम्बोधन गरी लेखिएको पत्रमा राईलाई स्वर्णलक्ष्मी सहकारीक अध्यक्ष गितेन्द्र बाबु राईसमेत भएको ठगी र संगठित अपराध सम्बन्धी कसूरमा भागी फरार रहेका प्रतिवादी भनिएको छ । नेपाली काँग्रेसको संघीय प्रतिनिधिसभा सांसद उनलाई कार्यलयको हिरासतमा राखी अनुसन्धान भैरहेको जनाइएको छ ।
टिप्पणीहरू