यी कुरा गरिदिनुपर्‍यो विप्लव कमरेड !

यी कुरा गरिदिनुपर्‍यो विप्लव कमरेड !

धरानका मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङले नेपालकै सुगम प्रदेश कोशीको एक प्रमुख शहर धरानमा कोदालो बोकेका पोज पोज फोटो बिक्री हुन्छन् । तारिफको बाढी र चन्दाको चहर आउँछ । तर दुर्गम प्रदेश कर्णालीको दुर्गम जिल्ला कालिकोटको रूपसा चिसापानी क्षेत्रमा भेडा फार्म खोल्दाको खासै समाचार आउँदैन । हर्क साम्पाङले धरानमा पाइप तानेको तस्बिर भाइरल हुन्छ । तर काठमाडौंको बूढानीलकण्ठमा खुलेको सि व्यापार केन्द्रको समाचारले भने भाइरल हुने मौका पाउन्न । किनभने विप्लवसँग चलेका कुनै  युट्युबर छैनन् । न त छन् २४ घण्टा बाइट र अन्तरवार्ता लिन आतुर मूलधार पत्रकारका हुल ।

यति हुँदाहुँदै विप्लवले नेपालको कृषि, पशुपालन तथा उद्यम क्षेत्रमा देखिने नेतृत्व गरेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई २०८१ माघ १४ मा सी व्यापार केन्द्र खोलेर उभ्याए । राजनीतिक रूपमा नेपालको कृषि, पशुपालन तथा उद्यम क्षेत्रमा नेतृत्वदायी गर्ने र परिणाम देखाउने एकल अनुहार विप्लव नै हुन् । यहाँ विप्लवको तरिकाको तारिफ र हर्कको विरोध गरिएको होइन ।

हर्कले भन्दा धेरै राम्रो काम गर्दा पनि पाउनुपर्ने जत्ति चर्चा पाएनन् भन्ने मात्रै गुनासो हो । विप्लवका राजनीतिक मुद्धा र दर्शनका कोणमा तर्कवितर्कका ठाउँ छन् । विप्लवको कृषि क्षेत्रको लय, लगाव र लगानीको हिसाबमा भने तर्कभन्दा धेरै तारिफका ठाउँ छन् । प्रश्नभन्दा प्रशंसाको ठाउँ धेरै छन् । कृषि प्रधान भनिएको देशमै कृषि आयात धेरै भएको अवस्था छ । यो बेला अरु उडन्ते राजनीतिक कुरा नगरेर श्रम गर्नेलाई सम्मान र उद्यममा जोड्ने विप्लवको बाटो सही छ ।

सहकारिता र सामुहिकताकाको बाटो अपनाएर गरिएकोले उनको काम झनै सही छ । नेपालमा कृषि उत्पादन गरेर देशभर सुपथ मूल्यमा निर्यात गर्ने माहोल बनाउन विप्लव एक बिम्ब बनाउन सफल छन् । गाउँका फलफूल, तरकारी, अन्नबाली शहरमा वा उपभोक्तामा पुर्‍याएर बिचौलियालाई नपोसिकन तुलनात्मक रूपमा सस्तोमा बेच्नु आफैँमा राम्रो कुरा हो । यही कुरालाई संस्थागत गरेर विभिन्न ६ मोर्चामा विप्लव कमरेड नेतृत्वको नेकपाले काम गरे देशमा कृषि क्रान्ति हुन्छ । देशको कृषि चित्र बदलिन्छ ।

१. किसानको दुर्घटना र स्वास्थ्य बिमा 

नेपालका किसानको सुरक्षा नै प्रमुख कुरा हो जसका कारणले किसान बन्नु रहर होइन, बाध्यता भएको छ । दुर्घटना र स्वास्थ्य बिमाको सुविधा वा सामाजिक सुरक्षा कोषसँग जोड्ने कुराले धेरैलाई किसान बन्न प्रोत्साहन हुन्छ । नेपालमा किसानको महत्व बढाउन यसले सहयोग पु¥याउनेछ । आफ्ना सहकारीका किसानबाट अरु आमकृषकसम्म यसले अर्को आकर्षक माहोल ल्याउनेछ । वामपन्थीहरूको भाषामा सर्वाहाराको उत्थान हुनेछ । समाजवादको बाटोमा इँटा थपिनेछ । 

२. किसान सन्तान छात्रवृत्ति तथा किसान पुस्तकालय 

खाद्य सुरक्षा नै राष्ट्रिय सुरक्षा हो । नेपालले भोगेको नाकाबन्दी होस् वा रुसले भोगेको वा कतारले झेलेको नाकाबन्दी होस् सबैमा खाद्य सुरक्षा राष्ट्रिय सुरक्षाको मुद्दा भएको देखिन्छ । किसानको सुरक्षा भनेको कृषि सुरक्षा हो । कृषि सुरक्षा भनेको खाद्य सुरक्षा हो भने खाद्य सुरक्षा नै राष्ट्रिय सुरक्षा हो । त्यसैले किसानका सन्तान बलियो बनाउनमा छात्रवृत्ति आवश्यक छ । किसानमा पठन संस्कृति बढाउन किसान केन्द्रित पुस्तकालय वा कृषि साहित्य उत्सव आदि संस्थागत कार्यक्रम गर्न सकिन्छ । 

३. किसान स्वयंसेवक 

नेपालका धेरै शहरिया तथा बजारिया युवालाई कृषिमा जोडिन मन छ । तर, जमिन छैन । परिवार कृषिमा छैनन् । यो जमातलाई ख्याल गरेर कृषि स्वयंसेवक बनाउन सकिन्छ । धरानको युवा एक हप्ता, महिना जति सक्छ त्यति समय धादिङ वा धनगढीमा कृषि स्वयंसेवक बन्न सक्छन् । तेह्रथुमका कृषि स्वयंसेवक तनहुँ जान सक्छन् । यसले एकातर्फ कृषिप्रति ग्ल्यामर बढाउँछ भने किसानको मानमनितो उठ्छ । विप्लवका कृषि केन्द्रबाट यसको सुरुवात गर्न सकिन्छ । 

४.पर्वमा सरकारभन्दा सस्ता खसीबोका र च्याङ्ग्रा 

नेपालमा खाद्य संस्थानले दशैँतिहारताका खसीबोका तथा भेडा च्याङ्ग्रा बेच्छ । यो बेचाइलाई प्रतिस्पर्धा गर्न विप्लवले नयाँ आधार दिने स्थान खुला छ । संखुवासभाका भेडा सुनसरीको धरानमा, ताप्लेजुङका बाख्रा झापामा र जुम्लाका बोका सुर्खेत वा नेपालगञ्जमा ल्याएर सरकारभन्दा सस्तो र सहज बिक्री गर्दा जनतालाई राहत हुनेछ । विप्लवको राजनीतिलाई पनि यसले सहयोग गर्नेछ ।

५. रैथाने बिउ बैंक 

कर्पोरेट सर्वोच्चताको युगमा बिउहरू किसानका भण्डारबाट कर्पोरेट प्याटेन्टका नाममा खोसिइरहेका छन् । मौलिक र रैथाने नेपाली बिउहरूको बलियो प्रबद्र्धन जनस्तरबाट हुने माहोल बनेकै छैन । विप्लव नेतृत्वले यसबारे व्यापक जनचेतना फैलाएर यस्तो सुविधा सुरु गर्न सक्छन् । यसले नेपाली मौलिक बिउको व्यस्थापनमा सहजता हुनेछ । 

६. कर्णाली कृषि अवार्ड 

नेपालमा चलचित्र, गीतदेखि विभिन्न खालका अवार्ड छन् । तर, कृषिका विशाल अवार्ड छैनन् । यो कामको सुरुवात कर्णालीको नाम र ब्राण्डबाट गर्न सकिन्छ । नेपालको पछि परेको कर्णालीलाई कृषि क्रान्तिको बिम्ब बनाएर कम्तीमा एक नेपालस्तरीय र एक दक्षिणस्तरीय अनि अर्को विश्वस्तरीय अवार्ड दिन सकिन्छ । 
 

टिप्पणीहरू