सरकारले नदेखेझैँ गरेपछि भ्रष्ट डिजीको कार्यालयमा कर्मचारीको तालाबन्दी

सरकारले नदेखेझैँ गरेपछि भ्रष्ट डिजीको कार्यालयमा कर्मचारीको तालाबन्दी

काङ्ग्रेस महामन्त्री गगन थापाको टिप्पणीलाई चुनौती दिँदै प्रधानमन्त्री केपी ओलीले हिजो भन्नुभयो-मेरो बेडरुममा बिचौलिया छिरेको प्रमाण देखाउनु । तर,प्रधानमन्त्रीकै पिएहरु बकाइदा भ्रष्टाचारीले उपहार चढाएको लक्जरी गाडीमा कुदिरहेकै छन् ।

उनैको दवावका सामु छानबिन टुङ्ग्याएर बसेको अख्तियार मुध्दा बिशेष अदालतसम्म पुर्याउन नसकेर लगलगी कामी बसेको दुनियाँले देखेकै छ । सँसदको लेखा समितिले भ्रष्टाचारीका सात पुस्ते खुलाएर तयार पारेको प्रतिवेदन छरपस्टै छ । तैपनि राष्ट्र दोहनको पैसाका सामु सुशासन निरीह बन्न बाध्य छ । यस्तोमा आज तिनैमध्येका एक भ्रष्टविरुध्द कर्मचारी जाग्न कस्सिएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको कार्यालय बाहिर गत साता विप्लव समूहले नाराबाजी र केहीबेर घेराउ गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको आरोप संसदको लेखा समितिअन्तर्गत उपसमितिको प्रतिवेदनमा किटानी गरिएको छ । अधिकारी उक्त विमानस्थल निर्माणको क्रममा परियोजना प्रमुख थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका विभिन्न विमानस्थल र प्राधिकरणको सिनामंगलस्थित मुख्यालय निर्माणमा भ्रष्टाचार गरेको आरोप लागेपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अहिले भने प्राधिकरणकै कर्मचारीले उनको कार्यकक्ष घेराउ गर्न लागेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियन केन्द्रीय समितिले प्रतिनिधि सभामा पेश भएका विधेयकहरू फिर्ता लिनुपर्ने माग राख्दै अधिकारीको कार्यकक्षमा बिहान १० बजेदेखि ताला लगाउने तयारी गरेको छ । प्राधिकरणको प्रधान कार्यालय बबरमहलस्थित अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर सिनामंगलस्थित कार्यकक्षमा एक घण्टा धर्ना दिन लागिएको बुझिएको छ ।

टिप्पणीहरू