मौनताभित्र लुकेको एसपीको रहस्य !

मौनताभित्र लुकेको एसपीको रहस्य !

सामान्यतया प्रहरी कमाण्डर हक्की र प्रोएक्टिभ स्वभावका हुने गर्दछन् । त्यसमा पनि तराईको जिल्लामा काम गर्ने प्रहरीका हाकिम अझै गतिशील हुनुपर्दछ । तर रुपन्देहीमा १४ महिना बढी समय बिताएर आज सोमबार मात्रै सरुवाको लिस्टमा परेका एसपी रन्जित सिंह राठौरले भने मौन बसेर नै कार्यकाल सकाएका छन् ।

आजै सार्वजनिक सूचनाअनुसार  एसपी राठौर भरतपुर शिक्षालय जाने भएका छन् ।

प्रहरी कर्मचारीको सरुवा बढुवा सामान्य हो । त्यही नियमभित्र परी सोमबार प्रहरी हेडक्वार्टरले ६३ जना एसपीको सरुवा निकालेको छ । सरुवाको विषय सबै पाठककोलागि चासोको विषय होइन पनि । तर न्वारनदेखिको बल लगाएर, शक्ति केन्द्र धाएर तराईको जिल्लामा जानेहरुको बारेमा भने आम सरोकारको विषय हो ।

यसैबीच लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्रहरी संगठनभित्र सबैभन्दा बढी आकर्षक भनी चिनिने रुपन्देहीमा यसपटक प्रदीप क्षेत्रीले कमान्ड सम्हाल्ने अवसर पाएका छन् । क्षेत्री कोशी प्रदेश प्रहरी गण विराटनगरबाट रुपन्देही सरुवा भएका हुन् ।

राठौरले १४ महिनासम्म बस्दा अधिकांश कार्यसम्पादनको जिम्मेवारी डिएसपी र इन्स्पेक्टरलाई दिएर आफू पन्छिने गरेका थिए ।

उनको कार्यकालमा  डिएसपीद्वय नविन पौडेल र लक्ष्मी खनालबीचको विवाद सतहमा आयो । विवादले उत्कर्ष रुप लिएपछि हेडक्वार्टरले दुबै डिएसपीलाई कारबाही गर्यो । २ जना प्रहरी कर्मचारीलाई अख्तियारले घुस लिँदालिँदै रंगेहात पक्राउ गर्यो ।  पत्रकारहरुले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए । पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा नै आएर प्रहरीको नियन्त्रणमा रहेको अभियुक्तलाई भगाएको विषय जघन्य अपराध हो भनेपछि बल्लतल्ल अभियुक्त पक्राउ परे । अहिले पनि पत्रकार राधेश्याम विश्वकर्माले खिचेको फुटेज डिलिट गराउने दिपेश यादवलाई भगाउने इलाका प्रहरी कार्यलय मझगाँवका इन्स्पेक्टर सन्तोष बस्याललाई एसपी राठौरले कारबाही त के सोधपुछ समेत गरेनन्न ।

जिल्लामा चोरी तस्करीका घटना नियन्त्रण बाहिर रहेको भन्दै समाचारहरु प्रकाशन तथा प्रसारण धेरै पटक भए । तर पनि उनले प्रतिक्रिया जनाएनन्  । उनको मौनताभित्रको रहस्य देखेर रुपन्देहीवासी आश्चर्यचकित छन् ।

१४ महिनासम्म मौनतामा बसी सरुवा भई जान लागेका एसपीको कमान्डलाई लिएर रुपन्देहीवासीले उनलाई सोझो एसपीको संज्ञा दिएका छन् । कतिपयले निरिह एसपी भनेका छन् । केहीले घुमुवाहरुको चंगुलमा फसेको सँज्ञा दिएका छन् ।

यता सरुवा भई आउन लागेका प्रदीप क्षेत्री कुनै बेला चर्चित एसपी विक्रमसिंह थापाको कार्यकालमा इन्स्पेक्टर थिए ।  

रुपन्देही जिल्लामा पछिल्लो समय प्रहरी नियमविपरितका कार्यहरु पनि हुँदै आएका छन् । सई इन्चार्ज हुने धकधई,बेथरी र मंगलापुरमा इन्सपेक्टरलाई इन्चार्जको जिम्मेवारी दिईएको छ । एकजना डिएसपी चाहिने भैरहवामा दुई दुई जना खटाउने गरिएको छ । अहिले पनि सुरज कार्कीले कार्यसम्पादन गरिरहँदा अर्का डिएसपी गणेश सापकोटालाई पनि हेडक्वार्टरले भैरहवा पठाउन लाग्दैछ।  यसले पनि के देखाउँछ भने रुपन्देही प्रहरी अधिकृतहरुको रोजाईको केन्द्र बन्दै गएको छ ।

भौगोलिक र साँस्कृतिक विविधता भएको रुपन्देही जिल्लामा क्यासिनो, रात्रिकालिन बजार,नदीजन्य पदार्थको कारोबार,नेपालकै दोस्रो ठूलो भन्सार नाका र त्यस आसपासबाट हुने ब्यवसायिक कारोबारबाट अदृश्य रुपमा प्राप्त हुने लाभको कारण शक्तिकेन्द्रको रोजाईमा रुपन्देही प्रहरी प्रमुख पर्ने गरेको हो ।

टिप्पणीहरू