रेशम भेट्न कारागार पुगेका सिकेले भने: हामीमाथि अन्याय भैरहेको छ
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम समुदायमाथि अन्याय र दमन भइरहेको बताएका छन् ।
आज पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका उनले बाहिर निस्किएर त्यस्तो प्रतिक्रिया दिएका हुन् । एकता घोषणा सभाकै दिन पक्राउ गरिनुलाई राउतले राज्यको अलोकतान्त्रिक कदम भनेका छन् ।
‘कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु त प्रक्रिया नै भएन । दुई चार दिनअघि नै किन जानकारी गरिएन । आज नै पत्र लेखिएको छ, सर्वोच्चबाट । कार्यकर्ताहरु कार्यक्रमका लागि भेला भइसक्नुभएको थियो । यो कस्तो भयो भने हामीले आफ्ना अधिकार माग्नै नहुने, बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नै नहुने, बलियो बन्नै नहुने अलोकतान्त्रिक किसिमको व्यवहार देखियो', उनले भने, 'यसलाई परास्त गर्न भनेपनि पार्टी एकीकरण गरेरै छोड्छौँ । हामीमाथि कस्तो खालको दमन भयो, यो जनताले हेरिरहेका छन् । एकीकरणकै दिन घटनास्थलबाटै किन पक्राउ गरियो ? यो धेरै ठूलो प्रश्नवाचक चिन्ह रहनेछ । उहाँलाई सिधै डिल्लीबजार कारागारमा ल्याइएको छ । आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको छ ।’
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता गर्ने कार्यक्रम थियो । प्रज्ञा भवनमा कार्यक्रम शुरु हुनु अगावै आज दिउँसो संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
यता, चौधरीलाई पक्राउ गर्ने सर्वोच्च अदालतको पत्रको आधिकारिकता विवादमा परेको छ । त्यसबारे अहिले छानविन भैरहेको बताइएको छ ।
टिप्पणीहरू