शेखर कोइरालाले मागे श्रमिक आयोग
नेपाली काँग्रेसको संस्थापन इतर खेमाका नेता तथा संघीय सांसद डा. शेखर कोईरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएका छन् । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन् ।
विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलन सफल हुनुमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको जनाउँदै कोइरालाले श्रमिकका समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा काँग्रेस पार्टी गम्भीर रहेको बताए । होटलमा कार्यरत श्रमिकले उठाएको १० प्रतिशतको कुरा कानुन बनाएर लागू गर्न भूमिका खेल्ने उनको प्रतिवद्धता छ ।
‘साथीहरु होटलमा कार्यरत श्रमिकहरूले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरुले धेरै ठूलो माग गर्नुभएको छैन’, कोइरालाले भने, ‘कानून बनाएर यसलाई अगाडि बढाऔँ भनेर सुप्रिम कोर्टले पनि भनेको छ । त्यसलाई नेपाली काँग्रेसले कानून बनाउन अघि बढ्छ ।’
मजदुरहरुले नलडेको भए २००७ सालको क्रान्ति अनि ०४६ र ०६२३/०६३ को आन्दोलन सफल हुननसक्ने ठोकुवा पनि उनले गरे । अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीच व्यापार युद्ध चलिरहेकाले विश्व परिस्थिति नाजुक रहेको र त्यसको असर नेपालमा पर्न सक्नेतर्फ उनले सबैलाई सचेत गराए ।
टिप्पणीहरू