एउटै काम गर्दा काठमाडौंमा तहल्का, बूढानीलकण्ठमा सुनसान
पछिल्लो समय समाजमा ‘स्टण्टबाजी’ र ‘मिडियाबाजी’ गर्न जान्नेहरुको रजगज छ । सामाजिक सञ्जालमार्फत चटक देखाउन सक्नेहरु चर्चाको शिखरमा छन् । त्यस्ता व्यक्तिले नै समाजमा वाहवाही बटुलिरहेका छन् । त्यस्तै एक पात्र हुन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह । राम्रैसँग सामाजिक सञ्जालको सदुपयोग गर्न जानेका उनले चुनाव जित्नुको प्रमुख कारण पनि सामाजिक सञ्जाल नै हो ।
सामाजिक सञ्जालबाट उनले आफ्नो प्रचारप्रसार गरे । चुनाव जितेपछि पनि सो कार्य जारी राखेका छन् । उनी जहाँ जाँदा पनि युट्युबर सँगै हुन्छन् । केही युट्युब च्यानल नै किनेका छन् । आफ्नो फोटो,भिडियो खिच्नका लागि महानगरबाट तलब खुवाएर फोटोग्राफर र टिम पनि राखेका छन् । मेयर मात्र नभई काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेसमेत चर्चाको भोका देखिन्छन् ।
उनी पनि मेयरकै पथ पछयाउँदै हिँडेका छन् । अवैध कामु नगरप्रहरी प्रमुख राजु पाण्डे जता जान्छन्, युट्युबर पनि सँगै लैजान्छन् । उनले क्यामेरा आफूसँगै बोक्ने गरेका छन् । होर्डिङ्ग बोर्ड हटाउँदा होस् या तार व्यवस्थापन गर्दा युट्युबर पुगिहाल्छन् । क्षणिकमा सो भिडियो सामाजिक सञ्जालभर छ्याप्छ्याप्ती हुन्छ । सडक बढार्दा पनि युट्युबरले खिचेर भाइरल बनाइहाल्छन् ।
जसले गर्दा महानगरले मात्र काम गरेकोजस्तै देखिन्छ । अन्य स्थानीय पालिकाले पनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । ती स्थानीय पालिकाले आफ्नो कर्तव्य सोचेर काम गरिरहेका छन् भने काठमाडौं महानगरले चर्चा कमाउने उद्देश्यले । बुढानीलकण्ठ नगरपालिकामा रहेको ह्याम्स अस्पतालको बोर्ड सडकसम्म आएको थियो । नगरपालिकाले अस्पतालका प्रतिनिधिसँग वार्तामार्फत त्यो बोर्ड हटायो । त्यहाँ न कुनै हंगामा भयो न कुनै तमासा । बोर्ड पनि हट्यो, विवाद पनि भएन् ।
तर, त्यहीँ ठाउँमा काठमाडौं महानगरपालिका भएको भए, तहल्का मच्चिन्थ्यो । हरियो पोशाकधारी महानगर प्रहरी बलको टोलीसँगै दर्जनौं युट्युबर पुग्थें । वार्तामार्फत हुने काम बल प्रयोगको अवस्थासम्म पुग्थ्यो । सामान्य कामका लागि पनि डोजर लिएर पुग्ने महानगरको फौजले वार्ता गर्दैन्, सिँधै ड्याङड्याङ भत्काउन थाल्छ । अनि दर्जनौं युट्युबरले ‘बालेनको टोलीले कसैले गर्न नसकेको काम गर्यो’ भनेर प्रचारप्रसार गर्छन् । सडक बढार्ने, तार व्यवस्थापन गर्नेलगायतका काम अन्य नगरपालिकामा पनि निरन्तर भइरहेको छ ।
यद्यपि, कुनैपनि नगरपालिकाले काठमाडौं महानगरजस्तो मिडियाबाजी गर्दैन् । उनीहरु चुपचाप आफ्नो काम गर्छन्, बाटो लाग्छन् । तर, काठमाडौं महानगरमा सानोतिनो काम गर्दापनि अन्तर्राष्ट्रिय स्तरमा हल्ला गर्ने प्रवृत्ति छ । त्यहीँ हल्लाको पछि लागेर र युट्युबमा आएको भिडियो हेरेर बालेनलाई ‘भगवान’ बनाएका उनका अन्धभक्तहरु अन्य जनप्रतिनिधिहरुलाई भने बिनाकारण तथानाम गाली गर्छन् ।
टिप्पणीहरू