उपमेयरको ‘स्टण्ट’ मा महावीरको ‘मूर्खतापूर्ण’ टिप्पणी
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन यतिबेला विराटनगरमा छन् । आफ्नै जीवनीमा आधारित ७५० रुपैयाँ मूल्य पर्ने पुस्तक बेच्दै हिँडिरहेका उनले सामाजिक सञ्जालमार्फत् यात्राबारे जानकारी गराउने गरेका छन् ।
कृषि औजार कारखानाका लागि पैसा जोहो गर्न किताव बेच्न हिँडेका महावीरका अधिकांश सार्वजनिक टिप्पणी त्यहि वरपर हुने गरेको छ । तर, गएराति भने उनले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई कटाक्ष गरेको देखियो ।
नेकपा एमालेले बैशाख ११ गते भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा डंगोलले केपी ओलीको प्रशंसा र बालेनको आलोचना गर्दै स्टण्ट गरेर देश नबन्ने अभिव्यक्ति दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘समस्या आयो भनेर भाग्ने होइन, जुधेर सामाना गर्ने ल्याकत राख्नुपर्छ । फेसकुबमा स्टण्ट गरेर देश बन्दैन, स्टण्ट गरेर देश बन्छ ?’
उपमेयरको यस्तो उग्र भाषणपछि एमाले कार्यकर्ता र बालेनका समर्थकबीच साइबर वार चलिरहेको छ । त्यहि मेसोमा महावीरको पनि प्रतिक्रिया आएको हो ।
अंग्रेजी शब्द स्टण्टलाई मूर्खताको अर्थ दिँदै उनले देश बनाउनको लागि कहिलेकाहीँ स्टण्ट गर्नेपर्ने बताएका छन् । ‘जिन्दगीमा मैले जबरजस्ती गरेका धेरै मूर्खतापूर्ण कामहरु (स्टण्ट) आत्मकथामा छ, उतिबेला म पनि अमेरिका पढ्न जानु मूर्खता थियो’, उनले भनेका छन्, ‘२३ वर्षअघि दुर्गम गाउँहरुमा इन्टरनेट पुर्याउनु अचम्मको मूर्खता थियो, पैसा र आइडिया नहुँदा पनि आविष्कार केन्द्र खोल्नु झन् ठूलो मुर्खता थियो ।’
अहिले एउटा कारखाना पुनःसञ्चालनको लागि पुस्तक बेच्दै हिँड्नु पनि अर्को मूर्खता रहेको महावीरको तर्क छ । ‘अनि वीरगञ्जमा कृषि औजार कारखाना चलाउने काममा पनि साह्रै मुर्ख कामहरु (स्टण्ट) देखाउनु परेको छ’, उनले थपेका छन् ।
उनको यो टिप्पणीमाथि पनि अनेकौँ टिकाटिप्पणी भइरहेको छ । कतिपयले सबै स्टण्ट वाहियात नहुने बताएका छन् भने ‘नियत’मा भर पर्ने तर्क पनि आएको छ । रिम गलागी मगर भन्छन्, ‘सबै स्टण्टहरु वाहियात हुँदैनन् भन्ने कुरा सरले पुष्टी गरिसक्नुभएको छ । मात्र स्टण्टको उद्धेश्य र नियतले फरक पार्छ ।’
जासु पुनले पनि गलत नियत राखेर गरिने स्टण्टको आयु नहुने प्रतिक्रिया दिएका छन् । उनी लेख्छन्, ‘ढिला आयो, कडा आयो, देश विकासको लागि सही नियत राखेर गर्ने हो भने यस्तो मूर्खतापूर्ण कामहरु (स्टण्ट) सबैले गर्नैपर्छ ।’
टिप्पणीहरू