‘म, मेरो र मैले’ मात्रै छ अझ पनि मुखमा
विरोधीसँग बोल्नसमेत नरुचाउने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजकल त्यस्ता नेतालाई बोलाई–बोलाई भेट्न थाल्नुभएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्काएर नेतृत्वमा स्थापित गराउन एउटा समूह सक्रिय भैरहँदा अध्यक्षमा तेहेरिने तयारीमा रहनुभएका उहाँले पार्टीभित्रका विरोधीलाई फकाउने रणनीति बनाएको बुझिन्छ । तर, उहाँमा अझै पनि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति भने नदेखिएको भेटेर फर्किनेहरूको अनुभव छ।
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सक्रिय गराउने अभियानमा खुलेर लागेका पात्र हुन्, सुदूरपश्चिमबाट स्थायी कमिटी सदस्य कर्ण थापा । मोरङका विनोद ढकाल र काभ्रेका गोकुल बाँस्कोटाजस्तै उनी पनि कुनै बेला अध्यक्ष ओलीको ‘कोर टीम’ मा एक प्रभावशाली सदस्य मानिन्थे । तर, पूर्वराष्ट्रपतिको पक्षमा खुलेकै कारण इखालु स्वभावका ओलीको ‘कर्के नजर’मा परेका कर्णको पछिल्लो समय नेतृत्वसँग सम्बन्ध औपचारिकतामा सीमित छ ।
तर, वैशाख १ गते नयाँ वर्षको दिन अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट एकाएक बोलावट भएपछि बालुवाटार पुगे । पार्टीको आन्तरिक राजनीतिका विविध पक्षमा कुराकानी हुने नै भयो । पाँच घण्टा लामो भेटबारे कर्णले विस्तृत विवरण खुलाएका छैनन् तर अध्यक्ष ओलीसँग सौहाद्र्रपूर्ण संवाद नभएको संकेत भने दिएका छन् । एउटा भित्री संवादमा बालुवाटार भेटको सार उनले एक लाइनमा यसरी सुनाएका थिए, ‘उहाँ (ओली) मा अझै पनि म, मेरो र मैले गरेको भन्नेबाहेक अरु केही रियलाइजेसन छैन । मैले गरेकोमा पनि प्रश्न हुन्छ कहीँ ? भन्ने दम्भ झन् बढेको पो देखियो ।’
राजनीतिमा फरक मत राख्नेलाई नेतृत्वले बोलाएर भेट्नुको छुट्टै अर्थ रहन्छ । अन्तरविरोध बढेका बेला एकै ठाउँमा बस्नुको मतलव कमजोरी आत्मसात् गर्दै मन माझामाझ गर्नु पनि हो । अध्यक्षले नै बोलाएकाले केही कमि कमजोरी स्वीकार हुने र सम्बन्ध सुधारका लागि योगदान पुग्ने अपेक्षा कर्णले पनि राखेका थिए । तर, दूरी राखेको मान्छेलाई फोन गरीगरी भेट्न बोलाउनुभएका ओली त्यस ढंगले प्रस्तुत हुनुभएन । भोलिपल्ट त्यस्तै अर्को एउटा भेटमा पनि अध्यक्ष ओलीबाट कमजोरी स्वीकार्नेभन्दा अर्काको टाउकोमा दोष थोपर्ने काम मात्रै भयो ।
निलम्बनको कारवाही भोगिरहेकी स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेलाई बैशाख १ गते ओली आफैँले फोन गरेर २ गते दिउँसो भेट्न बोलाउनुभयो । अध्यक्षको दर्शन मात्रै पाउन पनि घण्टौं कुर्नुपर्ने अवस्थाका बीच ओलीले भनेकै समयमा बालुवाटार पुगेकी उनले एक घण्टा एकल संवाद गर्ने मौका पाइन् । र, निलम्बनको औपचारिक पत्र नपाएको कुरा उठाइन्।
पाण्डेसहित तत्कालीन पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाले भाटभटेनी सुपरस्टोरका साहु मीनबहादुर गुरुङसँग दान लिएर पार्टी कार्यालय भवन बनाउने निर्णयको फेसबुकमार्फत विरोध गरेका थिए । त्यसलाई पार्टी हितविपरीतको कदम ठहर्याउँदै ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले भीमबहादुरलाई पार्टीबाट निकाल्ने अनि नेतृद्वयलाई ६ महिना निलम्बनमा राख्ने निर्णय गरेको थियो । सचिवालयका बहुमत सदस्य कारवाहीको विपक्षमा रहँदा रहँदै ओली, शंकर पोखरेल, विष्णु रिमाल र रघुवीर महासेठ चार जनाको जोडबलमा गरिएको कारवाहीको औपचारिक पत्र अहिलेसम्म दिइएको छैन ।
बालुवाटार भेटमा पाण्डेले त्यही कुरा राख्दा अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई दोष थोपरेर उम्कनुभयो । जबकि सचिवालयका बहुमत सदस्यले कारवाहीको विपक्षमा मत राख्दा ओली स्वयंले शंकरलाई माइन्युटमा के–के लेख्ने भनेर टिपाउनुभएको थियो । आफैँले पेलेर निर्णय लेखाउने तर परेको बेला जिम्मा नलिने उहाँ आत्मसमीक्षाको बाटोमा हुनुहुन्न भन्ने यो अर्को उदाहरण हो ।
टिप्पणीहरू