मन्त्रालयमा विद्याको तारिफ, यसरी जुटाएकी थिइन् अस्पताल खर्च
झण्डै एक महिनादेखि आन्दोलनरत शिक्षकलाई घर फर्काउन सफल भएको भन्दै सत्ता गठबन्धन दलका नेताहरुले शिक्षामन्त्री रघुजी पन्तको प्रशँशा गरिरहेका छन् । नेकपा (एमाले)का सांसद सूर्य थापाले त ‘मन्त्री पन्तले विरोधीहरुलाई मुखतोड जवाफ दिएको’ टिप्पणीसमेत गरेका छन् ।
तर, मन्त्रालयकै कर्मचारी भने निवर्तमान मन्त्री विद्या भट्टराईको प्रशंसा गरेर थाकेका छैनन् । सरकार र शिक्षकबीच सहमतिको आधार तयार गर्न भट्टराईले महत्वपूर्ण भूमिका खेलेको मन्त्रालयका एक अधिकृतले बताए ।
उनका अनुसार भट्टराईले सात बुँदे मस्यौदा तयार नपारेको भए शिक्षक आन्दोलन अझै लामो जान सक्थ्यो । ‘नयाँ मन्त्री (पन्त)ले कार्यभार सम्हालेको धेरै भएको छैन, उहाँको कार्यशैली विस्तारै थाहा हुँदै जाला’, उनै अधिकृत भन्छन्, ‘तर उहाँ (भट्टराई) जत्तिको खटिने मन्त्री कमै देखेको छु,बिहान सात बजे आएर राती साढे ११ बजेसम्म काम गरेको मेरै आँखाले देख्यो ।’
‘दुई लाख आफैँ तिरेँ’
मन्त्री भएपछि अधिकांशले सरकारी खर्चबाट महंगा अस्पतालमा उपचार गरेको पाइन्छ । तर,निवर्तमान मन्त्री भट्टराईले भने आफ्नै खर्चमै सरकारी अस्पतालमा उपचार गराएकी थिइन् ।
‘तर उहाँ (भट्टराई) जत्तिको खटिने मन्त्री कमै देखेको छु,बिहान सात बजे आएर राती साढे ११ बजेसम्म काम गरेको मेरै आँखाले देख्यो ।’
घाँटीमा समस्या देखिएपछि फागुन ९ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी उनको पाँच दिनपछि शल्यक्रिया गरिएको थियो । उपचार गर्दा दुई लाख हाराहारी खर्च भएको र उनी आफैँले पैसा तिरेकी थिइन् ।
तपाईंको बैंक खातामा दुई लाख थियाे त ? भन्ने जनआस्थाको प्रश्नमा भट्टराईको जवाफ छ, ‘त्यति त थिएन, अलिकति छोरोले खर्च गर्यो,जुटाएर सबै आफै तिरेँ ।’
भट्टराईका जेठो छोरा पेशाले आइटी इञ्जिनियर हुन् । उनको राम्रै कमाइ हुने गरेको बताइन्छ । अर्का छोरा भने भर्खर माध्यामिक तहमा अध्ययनरत छन् ।
राजीनामा दिएलगत्तै बैशाख ८ गते मन्त्री क्वार्टर छाडेर निजी निवास चावहिल पुगेकी भट्टराई नौ महिने कार्यकालमा विदेश भ्रमण नगर्ने एक मात्र मन्त्रीसमेत हुन् । पछिल्लो समय उनले सार्वजनिक यातायात (टेम्पो) मा यात्रा गरेको तस्वीरसमेत भाइरल छ ।
टिप्पणीहरू