भारतीय नेताको यति धेरै भेटघाट

भारतीय नेताको यति धेरै भेटघाट

भारतीय सत्तारुढ दल बिजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवाले चार दिनदेखि काठमाडौंको राजनीतिक भेटघाट सकेर हिजो फर्किएका   छन् । बुधबार बिहान ९ बजे नयाँ दिल्लीबाट यता आइपुगेका उनी लगत्तै राजनीतिक दलका नेताहरु,विभिन्न मन्त्रीसँग एकपछि अर्को भेटघाटमा जुटेका थिए । 

एउटा राजनीतिक दलका विभागीय प्रमुखले दिनहुँ मन्त्री, नेतातथा उच्च पदस्थ अधिकारीहरुसँग भेट गर्नुको कारण र विषयबारे विस्तृत रुपमा कसैले केही बताएका छैनन् । मन्त्रीसँगको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने र राजनीतिक दलका नेताहरुसँगको भेटमा पार्टीगत सम्बन्ध मजबुत बनाउने बिषयमा छलफल भएको बुझिएको छ ।

सोही क्रममा उनले हिजो एमाले महासचिव शंकर पोखरेलसँग भेटेका थिए । उक्त भेटमा पोखरेल र चौथाइवालेबीच दुई राजनीतिक दलको सांगठनिक ढाँचाबारे अनुभव साटासाट र दलको आन्तरिक व्यवस्थापनबारे कुराकानी भएको बताइएको छ । चौथाइवालेले हिजो बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर झण्डै ४५ मीनेट कुराकानी गरेका थिए । 

बुधबार दिउँसो गृहमन्त्री रमेश लेखक, राति नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका थिए । अस्ति प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भूतपूर्व परराष्ट्रमन्त्री एनपी साउदसँग कुराकानी गरेका उनी हिजो फर्किएका छन्  ।

टिप्पणीहरू