नीति तथा कार्यक्रम : काँग्रेसको रचनात्मक सुझाव, एमाले पूर्ण समर्थनमा
नेपाली काँग्रेसले सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि रचनात्मक सुझावसहित छलफलमा सहभागी हुने भएको छ । आज बसेको संसदीय दलको बैठकले नीतिलाई सकारात्मक जनाउँदै रचनात्मक समर्थनसहित समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय पनि गरेको छ । काँग्रेसले नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
आजै बसेको एमाले संसदीय दलको बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि ढुक्क र दृढतापूर्वक समर्थन गर्न सांसदहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरेर तीव्र आर्थिक विकासलाई अगाडि बढाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो दलमा वैचारिक एकता रहेकाले स्पष्ट र दृढताको साथ विपक्षीको गलत प्रचार रोकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याइएको हो ।’
संसदीय दलको बैठकमा एमाले उपमहासचिव एवम् प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार युवराज खतिवडाले सरकारको नीति तथा कार्यक्रमबारे व्याख्या गरेको बताइन्छ ।
टिप्पणीहरू